Techie IT
Samayabaddha
बुधबार, ३ वैशाख, २०८२

माओवादीको जागरण अभियान नवलपुरबाट फेरि सुरू


नवलपरासी । नेकपा (माओवादी केन्द्र) ले हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत आज गैँडाकोटमा विभिन्न कार्यक्रम भएका छन् ।

टोलीले बिहान झन्डै ५ किलोमिटर ‘मर्निङ वाक’ गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । अभियानका क्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैँडाकोट–८ लखन चोकमा रहेको शहीद लखन थापाको सालिकमा माल्यार्पण गरे । अभियानका क्रममा अध्यक्ष प्रचण्डले शहीद परिवार, शुभेच्छुकलगायतसँग भेटघाट र कुराकानीसमेत गरेका छन् ।

देवचुली नगरपालिकाको रजहर, जिल्लाको सदरमुकाम कावासोतीलगायतका ठाउँमा पनि कार्यक्रम भएका छन् । रजहरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थानीयस्तरमा स्वास्थ्यका पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताए ।

झापाबाट सुरू भएको अभियान गएको चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो । नयाँ वर्षको पहिलो दिन हिजो नवलपुरको गैँडाकोटबाट माओवादीले अभियानलाई फेरि निरन्तरता दिएको हो । हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको माओवादी केन्द्रले जनाएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट