Techie IT
Samayabaddha
बुधबार, ३ वैशाख, २०८२

आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौं । स्थानीय वायुको प्रभाव रहेकाले आज धेरै ठाउँको मौसम बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा बिहानपख हल्का वर्षा भएको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा आज हल्का वर्षाको सम्भावना छ । दिउँसो मधेश प्रदेशबाहेक अरु सबै प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुइ ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रि–मनसुनको समय भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलिदेखि पानी पार्ने नयाँ प्रणाली भित्रिन सक्ने सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले बताए ।

उहाँका अनुसार अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले भोलि पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई ठाउँमा अलि धेरै पानी पर्ने अनुमान छ ।

देशभर वर्षा हुने प्रक्षेपण रहेकाले यो हप्ता गहुँ, मुसुरोलगायत अन्न तथा दलहनबाली नकाट्न मौसमविद्ले आग्रह गरेका छन् । यो हप्ता कुनै पनि अन्नलगायत बाली नकाट्न र काटेको भए तत्कालै भित्र्याउँदा क्षति कम हुने मौसमविद् अधिकारीले बताउनुभयो । नयाँ प्रणालीको प्रभाव आउँदो सोमवारसम्म रहने अनुमान छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट