Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

सिङ्गापुरको संसद् विघटन


सिङ्गापुर, २ वैशाख । प्रधानमन्त्री लरेन्स वोङका लागि निर्णायक परीक्षा मानिएको आगामी राष्ट्रिय चुनावअघि सिङ्गापुरको संसद् मङ्गलबार विघटन गरिएको छ ।

गत वर्ष वोङले सिङ्गापुरका संस्थापक प्रधानमन्त्री ली कुआन यूका छोरा ली सिएन लुङको स्थान लिएका थिए र प्रभावशाली ली परिवारको दशकौँको नेतृत्वपछि नयाँ युगको सुरुआत गरेका थिए ।

“राष्ट्रपति थर्मन शनमुगरत्नमले प्रधानमन्त्री लरेन्स वोङको सल्लाहमा मङ्गलबार, १५ अप्रिल २०२५ मा संसद् विघटन गर्नुभएको छ”, एक सरकारी विज्ञप्तिमा भनिएको छ ।

अप्रिल २३ का लागि मनोनयनको दिन तय गरिएको छ र निर्वाचन विभागले मङ्गलबार पछि मतदानको मिति घोषणा गर्ने छ ।

यस चुनावमा अघिल्लो संसदभन्दा चार सिट बढी कुल ९७ सिट रहेका छन् । अधिकांश सिट ब्लक मतदान प्रणालीबाट आएका छन् जुन विपक्षीले सन् १९५९ देखि सत्तामा रहेको पिपुल्स एक्सन पार्टी ९पिएपी० को पक्षमा रहेको बताएको छ ।

सन् २०२० को चुनावमा प्रतिस्पर्धा गरिएका ९३ सिटमध्ये १० सिट जितेर राष्ट्रलाई चकित पारेको मुख्य विपक्षी वर्कर्स पार्टीले त्यस गतिलाई अगाडि बढाउने र थप प्रगति गर्ने अपेक्षा गरिएको छ ।

अन्य साना विपक्षी दलहरूले पनि चुनावमा लड्ने अपेक्षा गरिएको छ ।

यो चुनाव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सिङ्गापुरको द्रुत आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण विश्व व्यवस्थालाई खतरा पैदा गरेको बेला आएको छ ।

ट्रम्पले सिङ्गापुरमा आधारभूत १० प्रतिशत भन्सार शुल्क लगाउनु भए पनि सहर–राज्य अन्तर्राष्ट्रिय व्यापारमा भारी निर्भरताका कारण अन्य देशहरूमा लगाइएको धेरै उच्च भन्सार शुल्कले गर्दा विश्वव्यापी आर्थिक मन्दीको जोखिममा छ । रासस/एएफपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट