सफ्टवेयरमार्फत कागजरहित पालिका निर्माणतर्फ महालक्ष्मी नगरपालिकाको अग्रसरता

प्रविधिको विकाससँगै स्थानीय तहमा सेवा प्रवाह सुधार गर्ने उद्देश्यले धनकुटा जिल्लाको एक नगरपालिकाले सफ्टवेयर प्रणालीको प्रभावकारी प्रयोग थालेको छ । नगरपालिकालाई प्रविधिमैत्री गर्दै आउँदो तीन बर्षभित्र ‘कागजरहित’ बनाउने लक्ष्य राखेको छ ।
नगरपालिकाका अनुसार लेखा प्रणाली, राजस्व संकलन, योजना कार्यान्ववन सफ्टवेयर मार्फत स्वचालित प्रणालीमा संचालित छन् ।
अस्पताल ब्यबस्थापन, न्यायिक समितिको काम कारबाही, कृषि अनुदान तथा अभिलेखीकरण, नागरिक बडापत्र, कर्मचारी लगबुक, दर्ता प्रमाणपत्र व्यवस्थापन, सेवा निवेदन, निर्णय पत्र तयार गर्ने प्रक्रिया, बैठकको कार्यविवरण र नीतिगत अभिलेख सफ्टवेयर प्रणालीमार्फत सञ्चालन गर्ने योजना रहेको पालिकाले जनाएको छ । यसले सेवाग्राहीलाई पालिका कार्यालयमा लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गरिदिएको छ । योसँगै मोबाइलबाट नै पालिका सम्बन्धी गुनासो गर्न सक्ने योजना पनि पालिकाले बनाउँदैछ ।
सेवाप्रवाहमा पारदर्शिता
नगरपालिका मेयर ध्रुवराज रायाका अनुसार, ‘सफ्टवेयरमार्फत काम गर्न थालेपछि फाइल खोज्ने झञ्झट घटेको छ । काम कति दिनमा टुंगो लाग्छ भन्ने निश्चित हुने भएकाले सेवाग्राही सन्तुष्ट छन् ।’
डिजिटल रेकर्ड राख्नाले भविष्यमा योजना निर्माण र कार्यान्वयनमा समेत सजिलो भएको सोही पालिकाका वडा नम्बर २ का अध्यक्ष पदम रखालको धारणा रहेको छ ।
राजस्व संकलनदेखि योजना कार्यान्वयनसम्म डिजिटल प्रक्रिया
नगरपालिकामा बजेटको व्यवस्थापन, योजना छनोट र निगरानी प्रणाली समेत सफ्टवेयरकै माध्यमबाट सञ्चालित बनाउने योजना रहेको छ ।
यसबाट योजनाको प्राथमिकता निर्धारणदेखि सम्झौता, प्रगति विवरण र मूल्यांकन समेत डिजिटल माध्यममै हुने भएको छ । परिणामस्वरूप, आर्थिक पारदर्शिता बढेको स्थानीय सेवाग्राही नारायण बिक बताउँछन् । पालिकाले डिजिटल बोर्ड ल्याएमा सेवाग्राहीलाई अझ सजिलो हुने बिकको भनाइ छ ।
कागजको खर्च घट्दै, वातावरणमैत्री अभ्यास
यस अभियानले कागजको प्रयोग घटाएको छ । प्रशासनिक कागजको खर्च मात्रै होइन, प्रिन्टर, फाइल कभर, स्टोरेज व्यवस्थापन जस्ता पक्षमा समेत खर्च कटौती भएको छ । साथै, वातावरण संरक्षणका दृष्टिकोणले पनि यो अभ्यास सकारात्मक देखिएको पालिकाका कर्मचारीहरु एक मुखले बताउँछन् ।
स्थानीय तहमा प्रविधि–मैत्री अभ्यासको उदाहरण
यो नगरपालिकाको अभ्यासले जिल्लाका अरू पालिकाहरूलाई पनि डिजिटल रूपान्तरणको मार्ग देखाएको छ । ‘कागजरहित पालिका’ निर्माण गर्ने सोंच अब सपना मात्र होइन, सम्भव र सफल अभ्यास बन्नसक्छ । निकै भरपर्दाे मानिएको, यो क्षेत्रमा स्थापित नेशनल इन्कुबेशन एण्ड रिसर्च सेण्टर (एनआईआरसी) बाट यो पालिकाका अलावा कोशी प्रदेशका दमकसहित दर्जनौंले सेवा लिएका छन् ।
पहिला पहिला विभिन्न सफ्टवेयर कम्पनीहरुले एकपटक जडान गर्ने अनि हराउने थुप्रै समस्या झेलेर आजित यो क्षेत्रमा यो संस्था आएपछि निरन्तर सेवा प्रवाह भएको कोशी प्रदेशका पालिकामा कार्यरत आईटी अफिसरहरु बताउँछन् ।
एनआईआरसीको एकीकृत प्रणाली छ, पालिकामा हुने सबै काम एउटै प्लेटफर्मबाट हुने भएकाले यसको प्रभावकारिता र विश्वसनियता धेरै भएको झापा जिल्ला दमक नगरपालिकाका आईटी अफिसर समिप चुडाल बताउँछन् ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया