Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

देउवालाई दबाब : नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरूले दिए सामूहिक राजीनामा


काठमाडौं, ३ वैशाख । पार्टीभित्रबाट चौतर्फी दबाब र विरोधको सामना गरिरहेको नेपाली कांग्रेसका सभापति शैरबहादुर देउवालाई अर्को धक्काका रूपमा बुधबार नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरूको राजीनामा आएको छ।

पार्टीभित्र सत्ता सञ्चालन, हिन्दु धर्मसम्बन्धी धारणा र गतिविधि, महाधिवेशनको विषयलगायत थुप्रै विषयमा नेताहरूबाटै दबाब खेपिरहेको नेपाली कांग्रेस नेतृत्वलाई महिला संघको राजीनामा झट्काका रूपमा आएको हो। बुधबारका लागि बोलाइएको महिला संघको बैठकका पूर्वसन्ध्यामा २० केन्द्रीय सदस्यहरूले पार्टी कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन्।

पार्टीमा समानान्तर रूपमा नेतृत्वबिरुद्ध भइरहेको गतिविधिको पहिलो झट्काका रूपमा आएको छ यो कदम। बुधबार राजीनामा दिएका सबै कांग्रेसभित्रका शेखर कोइराला। गगन थापा पक्षधर हुन्। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि बुधबार नै सरकारको कार्यशैलीको विरोध गर्दै सातबुँदे पत्र सार्वजनिक गरेका छन्।

शेखर–गगन पक्षले निर्धारित समयमै कांग्रेस महाधिवेशन गर्न दबाब दिइरहेको छ भने देउवा भने महाधिवेशन आफ्नो अनुकूल सार्न तिक्डम गरिरहेका छन्।

राजीनामा दिनेहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा। अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा। सिता घिमिरे, तारा थपलिया छन् । यसैगरी नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वची आचार्यले पनि राजीनामा दिएका छन् । उनीहरुले अध्यक्ष उषा राउत मिश्रले पारदर्शीरुपमा संगठन चलाउन नसकेको र समस्या समाधानमा पहल नगरेको आरोप लगाएका छन् ।

महिला संघले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई हेरेर बस्न उपयुक्त नभएको भन्दै केन्द्रीय सदस्यहरुले राजीनामा दिएका हुन्। महिला संघका २० केन्द्रीय सदस्यले बुझाएको सामूहिक राजीनामामा लेखिएको छ, ‘तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौं ।’

पछिल्लो समय बागलुङमा निर्वाचित र क्रियाशील अध्यक्ष शकुन्तला शर्मालाई ‘रिक्त’ भन्दै अवैधानिक र अपमानित ढंगले हटाएपछि शेखर–गगन पक्ष असन्तुष्ट बनेको थियो। नेतृत्वको एकपक्षीय र पार्टीका अन्य नेताहरूको सल्लाहबिना अघि बढ्ने कार्यशैलीप्रति कांग्रेसभित्र आक्रोश र असन्तुष्टि झाँगिदै गएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट