शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच गभर्नर नियुक्ति गर्ने सहमति भइसकेको छ : मन्त्री गुरुङ

काठमाडौँ, ३ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्रबैंकमा छिटै गभर्नर नियुक्ति हुने बताएका छन्।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन्। उनले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएको ढिलाइ भएको जिकिर गरे।
उनले सत्तारुढ दलहरूबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारी दिए। उनले सत्तारुढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने समेत जानकारी दिए।
मन्त्री गुरुङले भने, ‘हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ। अब संयन्त्रको बैठक बस्दै छ। गभर्नरको समस्या चाँडै समाधान हुन्छ।’
सरकार शिक्षकका मागप्रति समेत संवेदनशील रहेको मन्त्री गुरुङले उल्लेख गरे। उनले शिक्षकका जायज माग पूरा गर्न सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको जानकारी दिए।
क्याटेगोरी : अर्थ, राजनीति
प्रतिक्रिया