Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

अमेरिकासँग व्यापार युद्ध लड्न तयार रहेको चीनको चेतावनी


चीनले अमेरिकासँग व्यापार युद्ध लड्न तयार रहेको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा आउने कुरा चीनमा निर्भर रहेको बताएपछि चीनले व्यापार युद्ध लड्न नडराउने चेतावनी दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिका वार्तामार्फत समस्या समाधानका लागि गम्भीर नभएको दाबी गर्दै अमेरिकाले सुरू गरेको व्यापार युद्ध लड्न आफूहरू नडराउने बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिका संवाद र वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहेमा उसले चेतावनी र ुब्ल्याकमेलिङु जस्ता अत्यधिक दबावको नीति रोकेर समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्ने जियानको भनाइ छ । उनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वान भने गरेका छन् ।

ट्रम्पले सुरूमा फेन्टानिल आपूर्तिमा चीनको भूमिका रहेको दाबी गर्दै चीनबाट आयात हुने सामानमा कर लर्गाएका थिए । त्यसयता ट्रम्पले चीनबाट आउने धेरैजसो सामानमा थप १४५ प्रतिशत आयात कर लगाएका छन् । चीनले पनि अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।

अमेरिकासँगको व्यापार युद्धकै बीच चीनले गएको जनवरीदेखि मार्चसम्मको अवधिमा आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको तुलनामा ५ दशमलव ४ प्रतिशतले वृद्धि भएको घोषणा गरेको छ । यो तथ्याङ्क अपेक्षा गरिएकोभन्दा बढी हो । तर यो वृद्धि अमेरिकी भन्सार शुल्क बढ्नुअघिको हो ।

यसैबीच चीनले नयाँ व्यापार दूत नियुक्त गरेको छ । ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि तथा वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नुहुने चीनको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा उल्लेख छ । यसअघि उनी चीनका पूर्वसहायक वाणिज्यमन्त्री तथा विश्व व्यापार सङ्गठनका राजदूत थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट