Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

नगरकोट भ्रमण वर्ष सुरु भएको दुई दिनमै एक लाख पर्यटक, खाना र बस्न छुटको अफर


काठमाडौं । यही वैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’ मा दिनमा एक लाख पर्यटकको आगमन भएको छ ।

पर्यटकीय क्षेत्र नगरकोटमा एक वर्षमा एक लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको यस अभियानअन्तर्गत दुई दिनमा एक लाख पर्डटकको आगमन भएको हो । पर्यटन प्रवर्द्धन, स्थानीयको आयस्रोत वृद्धि, रोजगारीका अवसर सृजना, विश्व पर्यटन बजारमा नगरकोटको पहिचानलाई स्थापितलगायत उद्देश्यसहित ‘नगरकोट भ्रमण वर्ष २०८२’ आयोजना गरिएको हो ।

नयाँ वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको भ्रमण वर्षका अवसरमा पहिलो दिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए । उनका अनुसार आज बिहानसम्म नगरकोटमा एक लाखभन्दा बढी पर्यटकको आगमन भएको छ । उनले भने, “नगरकोट भ्रमण वर्षको सुरुमा पर्यटकको आगमनले पर्यटन व्यवसायी उत्साहित हुनुभएको छ । गत चैत अन्तिम दिन कुनै पनि होटलका कोठा खाली थिएनन्, होमस्टेसमेत भरिएका थिए । वैशाख १ गते एकैदिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको थियो । आजसम्ममा एक लाख पर्यटकको आगमनले हामी उत्साहित भएका छौँ ।”

भ्रमण वर्ष उद्घाटनस्थल बतासे डाँडामा ६० वटा स्टलमा स्थानीय खानाका परिकार, घरेलु उत्पादनलगायत सामग्री बिक्री भइरहेको छभने वैशाख २ गते सोही स्थानमा इन्द्रेणी सांस्कृतिक समूहले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

तेस्रो तथा उद्घाटन कार्यक्रमको समापनका दिन गायक प्रकाश सपुत र स्थानीय सांस्कृतिक समूहको प्रस्तुति रहेको छ । सांस्कृतिक कार्यक्रममा २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको नगरकोट नाल्दुम पर्यटक विकास समितिका उपाध्यक्ष एवं चाँगुनारायण–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

नगरकोटमा सुरु भएको भ्रमण वर्ष १२ महिना अर्थात् आगामी चैत मसान्तसम्म सञ्चालन हुने जानकारी दिँदै नगरप्रमुख खत्रीले चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको भ्रमण वर्षको सुरुआत पूर्ण रूपमा सफल भएको बताए ।

नगरकोट आएका हजारौँ पर्यटकले यहाँको हिमाली दृश्य, सूर्योदय, सूर्यास्त, यहाँका विभिन्न स्टलको अवलोकन गर्नुका साथै यहाँका प्राकृतिक सौन्दर्यताको समेत अवलोकन गरेका उनको भनाइ छ । नगरकोटमा उद्घाटनका तीन दिनमा एक लाख स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउने उद्देश्य रहेकामा उक्त उद्देश्य पूरा भएको भन्दै एक वर्षमा ११ लाख पर्यटकलाई नगरकोट ल्याउने र पर्यटनको विश्वबजारमा नगरकोटलाई चिनाउने नगरप्रमुख खत्रीले बताए ।

भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाले प्रत्येक महिनामा कम्तीमा एउटा संयुक्त रूपमा नगरकोट केन्द्रित पर्यटक लक्षित कार्यक्रम सञ्चालन गर्ने र सबै पालिकाले आफ्ना नगरहरूमा पनि पर्यटकीय गन्तव्य बनाउने गरी थप कार्यक्रम वडास्तरबाट सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । भ्रमण वर्षले चारवटै पालिकाको ऐतिहासिक सम्पदा, कला, संस्कृति, प्राकृतिक सौन्दर्यता, विभिन्न जातीय चाडपर्व, यहाँका उत्पादनलगायत सम्पूर्ण क्षेत्रका बारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिने र लुकेर रहेका पर्यटकीय क्षेत्रलाई उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यलाई पूरा गर्ने विश्वास लिइएको नगरप्रमुख खत्रीले बताए।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी नवीन लामाले नगरकोट आउने पर्यटकलाई एक वर्षसम्म खान र बस्न १० देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिए ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट