Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा


काठमाडौं, ४ वैशाख । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ। पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग गरिएको रिटको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा आजदेखि सुरू भएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेसहितको पूर्ण इजलासमा बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हो। यसअघि २०८१ चैत्र ७ गते सुनुवाइका लागि पेशी तोकिए पनि सो दिन हेर्न नमिल्नेमा राखिएको थियो।

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसहित पूर्वमुख्य सचिव लिलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महान्यायाधीवक्ताको कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलगायतलाई रिट निवेदनमा विपक्षी बनाइएको छ। उनीहरू सबैविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहितको रिट निवेदनलाई पूर्ण इजलासमा पठाउन सर्वोच्च अदालतले यसअघि नै आदेश दिइसकेको थियो।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले उक्त विषय पूर्ण इजलासमा पेश गर्न आदेश दिएको थियो। अब नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउने कि नचलाउने भन्ने निर्णय पूर्ण इजलासले गर्नेछ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सो निर्णय बदरको माग गर्दै २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट