पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता एवम् भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।
राप्रपा सांसद राजेन्द्र लिङदेन संयोजकत्वको उपसमितिले नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदिप अधिकारीसहित विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मका संलग्न नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूलाई निलम्बन गर्न पनि सिफारिश गरेको छ ।
उपसमितिले अधिकारीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, आयोजनाका इन्जिनियर प्रविन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर बाबुराम पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम र राजन पोखरेलमाथि भ्रष्टाचारमा अनुसन्धान गरेर कारबाही गर्न, गराउन अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिश गरेको हो ।
उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रक्रियाको शुरूदेखि नै अनियमितता र भ्रष्टाचार भएको ठहर गरेको छ । प्रतिवेदनमा उपसमितिका सबै सदस्यहरुले हस्ताक्षर भने गरेका छैनन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया