मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम गर्न नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको आग्रह

काठमाडौं । १७ दिनदेखि आन्दोलित नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरू ‘विजयोन्मुख’ भएको बताएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौंमा सडक आन्दोलनमा छन् ।
आन्दोलन भड्कन सक्ने भयले सजग हुनुपर्नेमा महासंघ नेतृत्वले जोड दिएको छ ।
“यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुन जरुरी छ,” सुवेदीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ ।”
शिक्षक सडकमा उत्रँदा यातायात सेवा प्रभावित भएको छ । १६ औँ दिन (वैशाख ४) को प्रदर्शनक्रममा बानेश्वरको निषेधित क्षेत्रनजिक पुग्दा केही शिक्षकले प्रहरीसित वादविवाद गरेको देखिएको थियो ।
“हाम्रो आन्दोलन डिरेल्ड (विपथगामी) होस् र तार्किक निष्कर्षमा नपुगोस्, उपलब्धि हात नपरोस् भनेर षड्यन्त्र गर्नेहरू पनि थुप्रै छन्,” उनले लेखेका छन् ।
भड्कनबाट आफूलाई जोगाउँदै मर्यादित भएर आन्दोलनमा जुट्न शिक्षकलाई उनले आह्वान गरेका छन् । “त्यस्ता मान्छे कुन आवरणमा आउँछन्, कुनै ठेगान हुँदैन । त्यसैले हामीले उग्रता र भड्काउबाट आफूलाइ बचाउनुपर्छ,” उनले भनेका छन्, “मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्नुपर्छ ।”
आन्दोलनस्थलको सरसफाइ र सुरक्षामा सचेत बन्न उनले आग्रह गरेका छन् । हरेक दिन उनीहरूले माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गर्दै आएका छन् ।
“आन्दोलनको कार्यक्रम माइतीघरबाट सुरु हुने हो । त्यसैले पहिले नै बीचबाटो वा बानेश्वर गएर नबसौँ । माइतीघरबाटै जुलुसमा सहभागी भएर बानेश्वरतर्फ जाऔँ,” उनले लेखेका छन्, “आन्दोलन अवधिभर (१२ बजेदेखि ३ बजेसम्म) सडकमा नै रहौँ । पेटी नाघेर वारपार नगरौँ ।”
अरू केही दिन धैर्य र मर्यादित भएर प्रदर्शन गरे उपलब्धि हासिल हुने उनको भनाइ छ । “हामी चार लाख शिक्षक–कर्मचारी र हामीले उठाउने आन्दोलन मात्र हाम्रो हो । यो सत्यलाई मनन गरौँ,” उनले भनेका छन्, “त्यसैले अनुशासित, संयमित र मर्यादित भएर आन्दोलनमा जुटौँ ।”
उनका अनुसार, शिक्षकको प्रदर्शन आज (वैशाख ५) १७औँ दिन पनि जारी रहनेछ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया