माओवादीको कांग्रेसलाई दिएको ‘ब्लाङ्क चेक’: देउवालाई ओलीसँग बार्गेंनिङ गर्ने हतियार

काठमाडौं । करिब नौ महिनाअघि नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । तर, सरकार गठनपछिको समयदेखि नै सत्तारूढ दुई दलबीचको सम्बन्धमा तिक्तता देखिँदै आएको छ ।
शिक्षक आन्दोलनलगायतका ज्वलन्त मुद्दामा सरकारले समाधान गर्न नसकेको आरोप लागिरहेका बेला कांग्रेसभित्रैबाट सरकारप्रति असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त हुन थालेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेतृत्त्वको अर्को धारका नेता शेखर कोइरालाले प्रधानमन्त्री ओलीप्रति खुलेर आलोचना गरिरहेका छन् । यसले कांग्रेस र ओलीबीचको सम्बन्ध चिसिंदै गएको देखिन्छ ।
तर, एमाले–कांग्रेस संयन्त्रको बैठकले दुई पार्टीबीच गम्भीर समस्या नरहेको दाबी गरेको छ । पछिल्लो असन्तुष्टि र आन्दोलनहरूप्रति जनस्तरमा चासो बढिरहेका बेला कांग्रेसले पनि सरकारको कार्यसम्पादन समीक्षा गर्ने निर्णय लिएको छ ।
सरकारको कामप्रति पार्टी नेताहरूबाट नकारात्मक प्रतिक्रिया आएपछि सभापति शेरबहादुर देउवाले वर्तमान तथा पूर्वपदाधिकारी, मन्त्रीहरू र प्रमुख सचेतकहरूसँग छलफल गरी सरकारको प्रदर्शन सुधार गर्ने उपायबारे विचार विमर्श गरेका हुन् ।
देउवाको नेतृत्वमा बसेको कांग्रेस बैठकले सात बुँदे एमाले–कांग्रेस सहमतिप्रति पार्टी प्रतिबद्ध रहेको बताएको छ । सो सहमति अनुसार दुई वर्षपछि आगामी वर्षको साउनमा प्रधानमन्त्रीको नेतृत्व कांग्रेसले लिने तय भएको छ ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार, देउवाले सरकारलाई छाड्ने होइन, सुधार गर्नुपर्ने बताए ।
सरकारप्रति असन्तुष्टिको पछाडि केही विवादित मुद्दाहरू पनि रहेका छन् — जसमध्ये नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूको बढुवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा, अख्तियारसम्बन्धी विधेयकको ढिलाइ र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ हटाउने प्रमुख छन् ।
विद्यालयका शिक्षकहरूको तेस्रो सातामा जारी आन्दोलनका सन्दर्भमा कांग्रेस बैठकले तत्काल समाधान खोज्न गृहमन्त्री रमेश लेखक र महामन्त्रीद्वय थापा र शर्मालाई जिम्मेवारी दिएको छ ।
बैठकमा देउवाले यदि सरकारको कार्यसम्पादनमा समस्या भएमा प्रधानमन्त्री ओलीसँग आफूले छलफल गर्ने आश्वासन पनि दिएका छन् । तर, कांग्रेस नेताहरूका अनुसार उनले गठबन्धनमा विकल्प नभएको स्पष्ट पारेका छन् ।
उता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलेरै भनेका छन्, यदि कांग्रेसले एमालेसँग गठबन्धन तोड्यो भने नयाँ सरकार बनाउन आफूले ‘ब्ल्याङ्क चेक’ दिन्छु । प्रचण्डको यो प्रस्तावलाई देउवाले तत्काल उपेक्षा मात्र गरेका छैनन्, अहिले यो सही समय होइन भनेका छन् ।
माओवादीमा मन्त्रीमण्डलमा को को जाने भन्ने आन्तरिक होमवर्क गरिरहेका बेलामा देउवाको केपीलाई टिकाउने अडानले माओवादीभित्र एकथरि निराश बनेका छन् । माओवादीको कांग्रेसलाई दिएको ब्लांक चेकले गभर्नरदेखि धेरै विषयमा देउवालाई प्रम ओलीसँग बार्गेनिंग गर्न सहयोग पुर्याएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया