सबैसँग सहमति कायम गरेर आवश्यकताको आधारमा संविधान संशोधन गर्न सकिन्छ : गृहमन्त्री

पोखरा, ५ वैशाख । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै मन्त्री लेखकले पूर्वराजावादी या अरु कुनैपनि नाममा हुने हुने संविधान विरोधि गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताएका हुन्।
वर्तमान संविधान ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँहरू तयार हुनुपर्ने बताए। वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उनको भनाइ छ । नेपालमा सात दशककको अन्तरालमा सातवटा संविधान बनेको उल्लेख गर्दै मन्त्री लेखकले पटकपटक संविधान बन्नु राम्रो नभएको बताए।
संविधान भित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइने बताउँदै उनले संविधान विरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्ने जस्ता अराजक गतिविधि गर्न नपाइने र गरिएमा कानुनअनुसार कारवाही हुने उनले स्पष्ट पारे ।
संविधानको सुरक्षा आजको आवश्यकता भएको भन्दै उनले वर्तमान संविधान निर्माणको १० वर्षे समयावधिको आवश्यक समीक्षासहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताको आधारमा संशोधन गर्न सकिने उनले बताए।
पछिल्ला वर्षमा लागुऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रुपमा देखा परेको बताउँदै मन्त्री लेखकले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर कृयाशिल रहेको बताए।
सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अपरिहार्य भएको बताउँदै उनले जनतालाई सेवा दिने कुरामा कुनै किसिमको कसर बाँकी नराख्न आग्रह गरे।जिल्लास्थित जिल्ला प्रशासन कार्यालय संघको प्रतिनिधि रहेको उल्लेख गर्दै यस कार्यालयले संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन कृयाशिल हुनुपर्ने आवश्यकता औंल्याए । सेवालाई नागरिक मैत्री तथा प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने उनको भनाइ छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया