काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा

काठमाडौं । देशका विभिन्न ठाउँमा अहिले पानी परिरहेको छ । काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको हो ।
अहिले स्थानीय र पश्चिमी वायुको प्रभाव छ । कैलाली, अछाम, दाङ, गुल्मी, बाग्लुङ, स्याङजा, अर्घाखाँची, प्युठान, म्याग्दी, सिन्धुपाल्चोक, नुवाकोट, सङ्खुवासभालगायतका जिल्लामा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली नै रहने अनुमान छ । गएराति पनि दाङ, अछाम, दैलेखलगायतका जिल्लामा मध्यम खालको पानी परेको थियो । पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिए ।
यस्तै देशको उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हिमपातको समेत सम्भावना छ । मेघगर्जन र चट्याङ, वर्षा र हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई सेवामा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया