Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

अमेरिका सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने निर्णयमा


काठमाडौँ / इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानमा संलग्न संयुक्त राज्य अमेरिका आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने निर्णयमा पुगेको छ।

पेन्टागनका प्रवक्ता सीन पार्नेलका अनुसार अमेरिकी रक्षा सचिवको निर्देशनअनुसार सैनिक फिर्ता प्रक्रिया सुरु भइसकेको छ। उनले भने, “यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ।” तर प्रवक्ता पार्नेलले आईएस विरुद्धको आक्रमण जारी रहने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता कायमै रहेको स्पष्ट पारे।

सन् २०१४ मा आईएसले आक्रामक गतिविधिहरू सुरु गरेपछि अमेरिकी नेतृत्वमा गठबन्धन सेनाले आतंकवाद विरोधी अभियान थालेको थियो। उक्त अभियानमा अमेरिका सिरियास्थित स्थानीय फौज, विशेषगरी सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) सँग मिलेर लडेको हो।

सन् २०१७ मा इराकी प्रधानमन्त्रीले आईएसमाथिको विजयको घोषणा गरे भने सन् २०१९ को मार्चमा एसडीएफले सिरियाको बागुजमा आईएसको अन्तिम गढ कब्जा गरेपछि पराजयको घोषणा गरिएको थियो। तर हालसम्म पनि सिरियाका केही ग्रामीण क्षेत्रमा आईएसका लडाकु सक्रिय रहेका कारण अमेरिका समय–समयमा लक्षित कारबाही गर्दै आएको छ।

अमेरिकी फौजको फिर्तीसँगै त्यहाँको सुरक्षा संरचना पुनःसंगठन गर्ने तयारी पनि अघि बढाइएको प्रवक्ता पार्नेलले जानकारी दिए। यद्यपि यो फिर्तीले क्षेत्रीय स्थायित्व र सुरक्षा रणनीतिमा कस्तो असर पार्ला भन्नेबारे विश्लेषकहरूले चासो व्यक्त गर्दै आएका छन्।

आईएसको पुनःउत्थान रोक्न र स्थानीय सुरक्षाबललाई सशक्त बनाउन अमेरिकाले सहयोग निरन्तर जारी राख्ने संकेतसमेत दिएको छ। सैनिक फिर्तीको निर्णय सिरियाको सुरक्षा अवस्थालाई कसरी प्रभावित पार्छ भन्नेबारेमा भने अन्तर्राष्ट्रिय समुदायको निगरानी कायमै छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट