गणतन्त्रको रक्षाका लागि एकजुट हुन शीर्ष नेताहरूको आह्वान

काठमाडौं, ६ वैशाख — देशको राजनीतिक अस्थिरता र संविधानविरोधी गतिविधिहरूको बढ्दो जोखिमका बीच, शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तीन प्रमुख दलका शीर्ष नेताहरूले गणतन्त्र पक्षधर सम्पूर्ण शक्तिहरूलाई एक ठाउँमा उभिन आह्वान गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्पन्न बैठकमा समसामयिक राजनीतिक विषयहरू, संविधानको रक्षा र संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी विषयमा गहन छलफल भएको थियो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले देशको वर्तमान परिस्थिति गम्भीर भएको र त्यस्तो अवस्थामा संविधानमाथि धावा बोल्ने तथा सामाजिक अराजकता फैलाउने तत्वहरूप्रति सचेत रहनुपर्ने साझा धारणा बैठकमा बनेको जानकारी दिए।
खरेलले भने, “संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनेहरूप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्ने समान मत देखिएको छ।”
बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी चयनको प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल भएको खरेलले जानकारी दिए। हाल गठन भएको सिफारिस समितिले ती आयोगहरूमा पदाधिकारी चयनका लागि गरिरहेको कामको प्रगतिबारे बैठकमा जानकारी गराइएको थियो।
बैठकमा गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। नेताहरूले मुलुकको विद्यमान संवैधानिक व्यवस्था, समावेशीता र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि दलहरूबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
राजनीतिक स्थायित्व, संक्रमणकालीन न्याय प्रक्रिया सम्पन्न गर्ने प्रतिबद्धता र संविधानको रक्षा सुनिश्चित गर्न दलहरूबीच यस्तो सहकार्यलाई राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणतर्फको सकारात्मक संकेतको रूपमा हेरिएको छ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया