निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले राप्रपाका प्रदर्शनकारीलाई माइकिङ गर्दै सचेत गरायो

काठमाडौँ । राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले माइकिङ गरेर प्रदर्शनकारीलाई सचेत गराएको छ।
माइतीघर मण्डलाबाट सुरु भएको राप्रपाको विरोध -याली बानेश्वरतर्फ अघि बढ्दै गर्दा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र उल्लंघन गर्ने कोसिस गरेका थिए। सो क्रममा प्रहरीले बारम्बार माइकिङ गर्दै कानुन उल्लंघन नगर्न र निर्धारित सीमा पार नगर्न चेतावनी दिएको हो।
यसअघि शनिबार नै राप्रपाले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यस्तो कार्य भए कानुनअनुसार कारबाही हुने चेतावनी दिएको थियो। मन्त्रालयले सार्वजनिक रूपमा निषेधित क्षेत्र तोड्ने चेतावनी दिने र त्यसअनुसार प्रदर्शन गर्ने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
राप्रपाले राजतन्त्र पुनःस्थापनाको मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ। चैत २६ मा बल्खुमा राप्रापाले र चैत १५ मा तीनकुनेमा पनि राप्रपाकाे समर्थनमा विरोध प्रदर्शन भएकाे थियो। चैत १५ को प्रदर्शन राप्रपाकाे समेत समर्थनमा प्रसाईंको नेतृत्वमा गरिएको थियो। जुन हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद एवं महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए। हाल ती दुवै प्रहरी हिरासतमा छन्।
राप्रपाले आफ्ना दुई नेतासहित सो दिन पक्राउ परेका सबैलाई बिना शर्त रिहा गर्न माग गर्दै आइरहेको छ।
सरकारले कानुनअनुसार निषेधित क्षेत्र निर्धारण गरेको र त्यस्तो क्षेत्र उल्लंघन गर्नेलाई कारबाही गरिने स्पष्ट पारिसकेको छ। यद्यपि राप्रपाका समर्थकहरू भने आन्दोलनलाई तीव्र बनाउँदै सडकमै राजसंस्थाको पक्षमा नाराबाजीसहित प्रदर्शन जारी राखिरहेका छन्।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया