सिंहदरबार गेटबाट राप्रपा अध्यक्ष लिङ्देन र सांसद शाही गिरफ्तार

काठमाडौं, वैशाख ७ – सिंहदरबारभित्र प्लेकार्डसहितको विरोध प्रदर्शनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ।
सिंहदरबारभित्रैको सहरी विकास मन्त्रालयअगाडि राप्रपाका सात जना सांसदहरूले निषेधित क्षेत्रको अवज्ञा गर्दै प्लेकार्डसहित नाराबाजी गरेका थिए। उनीहरू ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै अघि बढेका थिए। यस क्रममा प्रहरीले उनीहरूलाई रोक्दै प्लेकार्ड खोसेर च्यातिदिएको र केही सांसदलाई पक्राउ गरेको छ।
प्रदर्शनअघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए। ज्ञानेन्द्र शाहीले आफूहरूलाई कार्यालयमै नजरबन्द गरिएको गुनासो सामाजिक सञ्जालमार्फत गरेका थिए। तर केही समयपछि उनीहरू पुनः बाहिर निस्केर मन्त्रालयअगाडि प्रदर्शनमा उत्रिएका थिए।
प्रहरीका अनुसार निषेधित क्षेत्रभित्र प्रदर्शन तथा नाराबाजी गर्नु कानून विपरीत भएकोले कारबाही गरिएको हो। यद्यपि, राप्रपाका कार्यकर्ताहरू भने बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
सिंहदरबारको दक्षिण गेटबाट बाहिरिँदै गर्दा मिडियासँग बोल्दै लिङ्देन र शाहीले वर्तमान सत्ता प्रणालीप्रति आक्रोश व्यक्त गरे। त्यसपछि नाराबाजी गर्दै गर्दा उनीहरूलाई प्रहरीले गेटबाटै गिरफ्तार गरेको हो।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया