Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं, ८ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका १० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, काठमाडौं महानगरपालिका ३२ बस्ने नुवाकोट विदुर नगरपालिका ५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुल्सीपुर उपमहानगरपालिका ६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।

पक्राउ मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रूपैयाँ, केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा प्रहरीले उरूषा र केदारलाई काठमाडौंबाट र पोषणराजलाई दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बाट पक्राउ गरेको हो ।

पक्राउ मध्ये उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट