Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

यी आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप


काठमाडौँ, ८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् ।

मन्त्री पौडेलको सङ्घीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत सङ्घीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख महिनामा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

उनका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्किजल आइसियुको सेवा विस्तार गर्नेछ । वीरको आइसियुमा नौ शय्या थप गर्ने कार्यक्रम वैशाख दोस्रो साता राखिएको छ ।

यसैगरी, भरतपुर अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्दै छ । यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्यानडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालले पिआइसीयु तथा पेडियाट्रिक वार्ड वैशाख दोस्रो साता आरम्भ गर्दै छ । भेरी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा वैशाख दोस्रो साताबाट आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

यसै गरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ । यसै गरी नारायणी अस्पताल वीरगन्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेस्रो साता औपचारिक सञ्चालनमा ल्याउनेछ ।

धनगढीको गेटा अस्पतालले भने वैशाख तेस्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ ।

मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सबै सङ्घीय अस्पतालहरूलाई थप तथा विस्तार गर्ने व्यवस्था मिलाउन भनेका थिए । जसअनुसार गत चैतमा१२ सङ्घीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिए भने वैशाखमा समेत यसलाई निरन्तरता दिइएको छ ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप सङ्घीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिए। ‘केहीमा सेवा थपिएका छन्, केहीमा थपिने क्रममा छन्,’ उनले भने । ‘स्वास्थ्य सेवा सुधार र विस्तार गर्ने मन्त्रीज्यूको नीतिअनुसार काम भइरहेको छ ।’

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट