सप्तकोशी नदीमा बेपत्ता दुई जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन

सुनसरी, ८ वैशाख । सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१, बराहक्षेत्र मन्दिरस्थित सप्ताकोशीमा नुहाउने क्रममा खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र सुनसरीको इटहरी नगरपालिका–१६ का १६ वर्षीय जेनिश आचार्य सोमबार बिहान बेपत्ता भएका हुन् । उनीहरूको खोजी गर्न नदीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
घटनालगत्तै उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षाबेस चतराबाट खटिएको टोलीले फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पाँच जनाको गोताखोरसहितको सुरक्षा फौज परिचालन गरिएको हो । गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजी सुरु गरेको डीएसपी थापाले बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया