Techie IT
Samayabaddha
बिहीबार, ११ वैशाख, २०८२

सिके र रेशमको पार्टी वैशाख १७ गतेदेखि एउटै हुने


काठमाडौं, ११ वैशाख । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते एकता हुने भएको छ । जनताको भावना र आकाङ्क्षाबमोजिम वैशाख १७ गते पार्टी एकताको घोषणा गर्न लागिएको डा.राउतको सचिवालयले जनाएको छ । मुलुकमा दुई पार्टी मिलेर एउटा शक्तिशाली पार्टी उदय हुन लागेको उल्लेख गर्दै सचिवालयले सो कदमले धेरै पार्टीको निद्रा उडेको बताएको छ ।

परिवारमै झगडा गराएर फुट ल्याउनेदेखि मिडियामा नानाभाँती समाचार लेखाउनेलगायतका कार्य गरे पनि नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन हुन लागेको सचिवालयको भनाइ छ ।

‘परिवारमा झगडा लगाएर,फुट ल्याएर होस् कि पार्टीभित्रैका पदाधिकारीहरुमाथि पैसा,गाडी, साधनस्रोत प्रयोग गरेर होस् कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्ने चरित्रहत्या गर्दै निरुत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस् कि पार्टी फुटाइदिने षडयन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरु नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की होस्, कुनैपनि कसर बाँकी राखेका छैनन्’,सचिवालयले भनेको छ,‘तर, हामी आत्तिएका छैनौं । तपाईँहरु पनि नआत्तिनुहोला । जनताको भावना र आकाङ्क्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढ्ने नै छौं । एकता हुन्छ नै ।’

दुई पार्टीको मिलनपछि ‘नागरिक जनमत पार्टी’ नाम राख्ने सहमति भएको छ । सो पार्टीको चुनाव चिन्ह ‘ढकिया’ रहनेछ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट