आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह

काठमाडौँ, १२ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन पुनः आग्रह गरेको छ । शिक्षा सचिव दीपक काफ्लेले एक सूचना जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले गर्दै आएको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाए । विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरूको हकहित प्रवर्द्धन गरी उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको उनको भनाइ छ । विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वाभाविकै रहेको मन्त्रालयले जनाएको छ ।
विधेयक संसदमा पेस हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानुनी बन्दोबस्त रहेको मन्त्रालयले जनाएको छ । शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न वार्ताका लागि नेपाल शिक्षक महासङ्घलाई अनुरोध गरेको हो ।
यसअघि समेत शिक्षा सचिव काफ्लेले वार्ताका लागि पत्राचार गरेका थिए । त्यसपछि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई र आन्दोलनरत शिक्षकहरूबिच छलफल भएको थियो । छलफलपछि शिक्षा मन्त्रालयले सरकारको तर्फबाट सम्बोधन गर्न सकिने ७ बुँदे प्रस्ताव तयार पारेको थियो । ती प्रस्तावहरू मन्त्रिपरिषद्मा पेस गर्ने शिक्षा मन्त्रालयको तयारी थियो । तर, शिक्षामन्त्री भट्टराईले त्यही दिन पदबाट राजीनामा दिएकी थिइन्।
आन्दोलनको २४ औँ दिनमा आज पनि शिक्षकहरु माइतिघर–बिजुलीबजार सडक खण्डमा धार्नाजुलुस गरिरहेका छन् ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया