आप्रवासीलाई पक्राउ गर्न जोगाएको भन्दै अमेरिकामा एक न्यायाधीश पक्राउ

अमेरिकाको विस्कोन्सिन राज्यकी एक न्यायाधीश पक्राउ परेकी छिन् । कागजात नभएका एक आप्रवासीलाई समात्न अवरोध गरेको आरोपमा उनलाई पक्राउ गरिएको रोयटर्सले जनाएको छ ।
अमेरिकी न्याय विभागद्वारा दायर आपराधिक उजुरीअनुसार, मिलवाकी काउन्टी सर्किटकी न्यायाधीश हन्ना डुगनले अप्रिल १८ तारिखमा अदालतमा उपस्थित एक व्यक्तिलाई आप्रवासनका अधिकारीले पक्राउ गर्न खोज्दा सहयोग नगरेको र उल्टै ती व्यक्तिलाई ‘जुरी ढोका’ बाट बाहिर निस्कन अनुमति दिएर पक्राउबाट जोगाउने प्रयास गरेको आरोप लागेको छ ।
एफबीआई निर्देशक काश पटेलले न्यायाधीश पक्राउबारे जानकारी दिएका बीबीसीले उल्लेख गरेको छ ।
यो घटनालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अपनाएको आप्रवासन नीतिसँग स्थानीय अधिकारीको मतभेदको सङ्केतको रूपमा लिइएको छ ।
सङ्घीय र स्थानीय सरकारबीचको अधिकार क्षेत्र र आप्रवासन कानूनको पालनासम्बन्धी बहसलाई फेरि चर्काएको छ ।
ट्रम्प प्रशासनले कडा आप्रवासन नीति अगाडि सारेको छ, तर केही स्थानीय निकायले नीति कार्यान्वयनमा सहयोग गर्न अस्वीकार गर्दै आएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया