Techie IT
Samayabaddha
सोमबार, १५ वैशाख, २०८२

सगरमाथा आरोहण गर्न ७ हजार मिटरभन्दा माथिका हिमाल चढेको हुनुपर्ने प्रावधानसहित पर्यटन ऐन संशोधन गरिदै


काठमाडौं । अब सगरमाथा चढ्न चाहने पर्वतारोहीले कम्तीमा एकपटक ७ हजार मिटरभन्दा अग्लो कुनै नेपाली हिमाल सफलतापूर्वक आरोहण गरेको प्रमाण पेश गर्नुपर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘पर्यटन विधेयक २०८१’ मा यस्तो व्यवस्था गरिएको छ।

हिमालको उचाइका आधारमा अनुमति अनिवार्य हुने वा नहुने व्यवस्था गरेको छ। अनुमति आवश्यक पर्ने हिमालमा जान चाहने पर्वतारोहण दलले पर्वतारोहण योजना, दस्तुर र आवश्यक कागजातसहित विभागमा निवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।

निवेदन दिँदा पर्वतारोहण दलका सदस्य, सम्पर्क अधिकृत, सरदार, पथप्रदर्शक र अन्य सहयोगीहरूले एक महिनाभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्र पेश गर्नु पर्नेछ। स्वास्थ्य अवस्था सन्तोषजनक नभएको पाइएको व्यक्तिलाई भने अनुमति दिइने छैन। विभागले प्राप्त निवेदन र कागजातको मूल्याङ्कनपछि आवश्यक देखिएमा पर्वतारोहण मार्ग र सर्त तोकी अनुमति दिन सक्नेछ। पर्वतारोहणको समय, दस्तुर, सर्त, उपलब्ध सेवा, गुणस्तर, पर्वतारोहीको न्यूनतम उमेर र अनुभव सम्बन्धी प्रावधान तोकिएको मापदण्डअनुसार हुनेछ।

त्यस्तै उक्त विधेयकमा पर्वतारोहण व्यवस्थापन गर्ने ट्रेकिङ एजेन्सीले पर्वतारोहण दलका सदस्य, सम्पर्क अधिकृत, सरदर, पथप्रदर्शक र सहयोगको प्रचलित कानुनबमोजिम इजाजतपत्र प्राप्त बीमा कम्पनीबाट बीमा गराउनुपर्ने व्यवस्था गरिएको छ। बीमा पर्वतारोहणसम्बन्धी कार्य सुरु हुनुअगावै गर्नुपर्नेछ।

पर्वतारोहण दलसम्बन्धी सबैको बीमा कम्पनीबाट व्यक्तिगत दुर्घटना बीमा, स्वास्थ्य उपचार बीमा, खोज तथा उद्धारसम्बन्धी बीमा र मृत शरीर व्यवस्थापनको बीमा गराउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ। ट्रेकिङ एजेन्सीले बीमा गराउँदा एक सिजनमा एकभन्दा बढी हिमालचुली आरोहण गर्ने पर्वतारोण दल, त्यस्ता पर्वतारोहण दलका साथमा जाने सरदार, पथप्रदर्शक वा सहयोगीका लागि ३ महिना अवधिसम्मको एकमुष्ठ बीमा गराउनुपर्ने प्रावधान विधेयकमार्फत ल्याइएको छ। विधेयकमा भएको व्यवस्थाबमोजिम ट्रेकिङ एजेन्सीले बीमा नगराएमा कसुर मानिनेछ र ५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ।

नेपाल पर्वतारोहण संघले हिमाल आरोही तथा गाइडलाई आरोहरण अनुमतिका लागि आवेदन दिँदा ३० लाख रुपैयाँको बीमा गरिएको पोलिसी ल्याउन अनिवार्य गरेको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट