गाउँगाउँमा सिंहदरबार पुग्नुभन्दा पनि जनतालाई कस्तो सेवा दिइरहेका छन् भन्ने विषय महत्त्वपूर्ण : प्रचण्ड

गुलरिया (बर्दिया), १५ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँगाउँमा सिंहदरबार पुग्नुभन्दा पनि जनतालाई ती सिंहदरबारले के कस्तो सेवा दिइरहेका छन् भन्ने महत्त्वपूर्ण भएको बताएका छन् । उनले गाउँगाउँमा आएका सिंहदरबारबाट जनताले सेवा पाइरहेको विश्वास व्यक्त गरेका छन् ।
बर्दियाको राजापुर नगरपालिका वडा ६ को वडा कार्यालय भवन उद्घाटन गर्दै पूर्व प्रधामन्त्री एवं अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले संविधान निर्माणको क्रम जनताको घर दैलोमा सेवा पाउन् भनेर धेरै नै मिहिनेत र अभ्यास गर्नु परेको बताए । उनले देश सङ्घीयतामा गइसकेपछि जनताले घरदैलोमा सेवा सुविधा पाएको बताए ।
स्थानीय सरकारहरू गठन भएर सिंहदरबार सबैतिर आएकोमा आफूलाई गर्व लागेको बताए । ‘नगरपालिकाका र वडाका प्रशासकिय भवन बन्नु जनतालाई दिइने सेवा सुविधाका लागि राम्रो कुरा हो । हामीले त्यो भवनबाट जनतालाई सेवा दिन कति सक्यौ कति सकेनौ भन्ने कुरा महत्त्वपूर्ण छ,’ उनले भने ।
अहिले जनताका विकासका आकाङ्क्षाहरू पूरा गर्ने, रोजगारी पूरा गर्ने र सेवा प्रवाह गर्ने कामलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
अध्यक्ष प्रचण्ड लगायतको नेकपा माओवादी केन्द्रको टोली हुलाकी सडक केन्द्रित तराई मधेश जागरण अभियानको क्रममा बर्दियाको राजापुर आइपुगेको छ । राजापुर नगरपालिकामा वडा कार्यालय उद्घाटन, कभर्डहल उद्घाटन, खुला व्यायामशाला उद्घाटन, शहीद तथा बेपत्ता परिवारसँग भेटघाट र जागरण सभा सम्बोधन गर्नुे कार्यक्रम रहेको छ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया