उद्योग विभागमा एकै महिना ३८ उद्योग दर्ता, विदेशी लगानी प्रस्ताव लक्ष्यभन्दा बढी
नयाँ उद्योग सञ्चालनको लागि व्यवसायीहरूको चासो बढेको छ।
चैत र वैशाख महिनामा उद्योग विभागमा दर्ता भएका उद्योग तथा उद्योग सञ्चालनको लागि आएको प्रस्ताव तथा विदेशी लगानीको प्राप्तिले नयाँ उद्योग सञ्चालनमा व्यवसायीको आकर्षण बढेको देखिन्छ।
चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा (२०८० साउनदेखि २०८१ वैशाखसम्म) नै उद्योग विभागमा गत आर्थिक वर्ष भरभन्दा धेरै उद्योग दर्ता भएका छन्।
चालु वर्षको १० महिनामा विभागमा दर्ता भएको उद्योगको संख्या ३२४ पुगेको छ। प्रदेश उद्योग विभागमा दर्ता भएको उद्योगहरूको संख्या भने यहाँ समायोजन गरिएको छैन। गत वर्षभर उद्योग विभागमा ३२३ वटा मात्रै उद्योग दर्ता भएका थिए।
वैशाखमा मात्रै चार वटा ठूला उद्योग सहित ३८ वटा उद्योग दर्ता भएका छन्। जसको प्रस्तावित लगानी १५ अर्ब ८५ करोड छ।
चालु वर्षको १० महिनामा ४० ठूला ३४ मझौला र २५० साना गरी ३२४ उद्योग दर्ता भएका छन्। यी उद्योगको प्रस्तावित लगानी एक खर्ब ८१ अर्ब रूपैयाँ छ। त्यस्तै यी उद्योग सञ्चालन हुँदा २२ हजार ६०६ जनालाई रोजगारी पाउने उल्लेख गरिएको छ।
उद्योग विभागले यो वर्ष ८० वटा ठूला, ८५ वटा मझौला र २०० वटा साना उद्योग दर्ता हुने लक्ष्य राखेको थियो।
वैशाख महिनासम्म नै साना उद्योग दर्ता संख्या लक्ष्यभन्दा धेरै छ। लक्ष्यका तुलनामा ठूला र मझौला उद्योगको दर्ता संख्या निकै कम छ।
त्यस्तै, नयाँ उद्योगको लागि आएको प्रस्ताव पनि बढेको छ। उद्योग विभागले वैशाख महिनामा ४० वटासहित चालु वर्षमा ३०९ वटा विदेशी लगानी परियोजना स्वीकृत गरेको छ।
यसको प्रस्तावित लगानी ४१ अर्ब ४२ करोड रहेको छ। विभागले चालु वर्ष कम्तीमा ३८ अर्ब रूपैयाँको विदेशी लगानी परियोजना स्वीकृत हुने लक्ष्य राखेको थियो।
प्रस्ताव स्वीकृत गरिएको परियोजना सञ्चालनमा आउँदा १३ हजार ८३४ जनलाई रोजगारी सिर्जना हुने उल्लेख गरिएको छ।
नयाँ उद्योग सञ्चालन पूर्व गरिने वातावरणीय परीक्षण पनि बढेको छ। वैशाख महिनामा १० वटा प्रारम्भिक वातावरणीय परीक्षण पनि बढेको छ। चालु वर्षको १० महिनामा ३८ वटा यस्तो परीक्षण भएको छ।
सरकारले ऐनहरू संशोधन र अन्य प्रक्रियागत ढंगबाट पनि निजी क्षेत्रलाई आकर्षित गरेको प्रभाव उद्योग दर्ता देखिएको विभागका अधिकारीहरूको दाबी छ।
वैशाख महिनामा सरकारले लगानी सम्मेलन गर्नुपूर्व अध्यादेशबाट एक साथ ८ वटा कानुन संशोधन गरेको थियो। उद्योग विभागमा निर्देशक अर्जुन सेन पछिल्ला महिना नयाँ उद्योग सञ्चालनको लागि स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको चासो बढेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पनि लामो समय निजी क्षेत्रमा देखिएको निराशा कम हुन थालेको प्रतिक्रिया दिए।
‘अहिले केही न केही राम्रो भएको छ भन्ने हाम्रो बुझाइ छ, सरकार निजी क्षेत्रसँग संवाद गरिरहेको छ, निजी क्षेत्रको सहभागितामा नै एक साथ ८ वटा कानुन संशोधन भएका छन्, अन्य कानुनहरू पनि सुधार गर्ने प्रतिबद्धता छ,’ ढकालले भने, ‘लामो समयदेखि निजी क्षेत्र अन्योलमा रहेकोमा विस्तारै कम हुँदै जानेछ।’
विदेशी लगानी प्रतिवद्धताको तुलनामा वास्तविक प्राप्ति निकै न्यून छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अनुसार यो वर्ष जम्मा ६ अर्ब ४८ करोड ९५ लाख रूपैयाँ लगानी प्राप्ति भएको छ।
जबकी गत वर्ष उद्योग विभागबाट मात्रै ३४ अर्ब बढीको लगानी स्वीकृत गरिएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ५४ अर्बको स्वीकृत गरिएको थियो।
लगानी प्रतिबद्धता आउँदाको वर्ष वा उद्योग दर्ताको वर्ष नै सबै लगानी आउँदैन। तर उद्योग निर्माण तथा सञ्चालन गर्न थालेपछि लगानी आउने गर्छ।
गत वर्षको तुलनामा भने चालु वर्षमा विदेशी लगानीको प्राप्ति पनि बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो नौ महिनामा ४ अर्ब ४२ करोड लगानी आएको थियो। यो वर्ष ४६ प्रतिशतले बढेर ६ अर्ब ४८ करोड पुगेको छ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया