Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

स्टार्टअप कम्पनीले यसै महिनादेखि ऋण पाउन सक्ने, बैंकले थाल्यो मूल्यांकन


सरकारले यसै महिनादेखि स्टार्टअप कम्पनीहरूलाई ऋण उपलब्ध गराउने गरी तयारी गरेको छ । ‘स्टार्टअप उद्यम कर्जा’का निम्ति परियोजना प्रस्ताव गरेका मध्ये पहिलो चरणमा ३९४ कम्पनी तथा फर्म छानिएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप छनोट गरेको थियो । प्रतिष्ठानको मूल्यांकन समितिले करिब साढे ३०० कम्पनीको प्रस्तुतीकरण लिएको छ ।

प्रस्तुतीकरणपछि प्रतिष्ठानले ती कम्पनीको विवरण थप मूल्यांकनका लागि राष्ट्रिय वाणिज्य बैंकमा पठाएको छ । करिब ४० कम्पनी प्रस्तुतीकरणका निम्ति नआएको प्रतिष्ठानले जनाएको छ ।

मूल्यांकन समिति र बैंक दुवैको मूल्यांकनपछि १०० पूर्णांकमा ५० अंकभन्दा बढी प्राप्त गर्ने कम्पनी तथा फर्मले कर्जा पाउने प्रतिष्ठानले जनाएको छ ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार कर्जा दिइने प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेले जानकारी दिए ।

बैंकले मूल्यांकन गरेपछिको नतिजा यही जेठ १६ गतेदेखि प्रतिष्ठानमा पठाउने अपेक्षा गरिएको उनले बताए । “त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी यसै महिनाको २५/२६ गतेदेखि ऋण उपलब्ध गराउन बैंकलाई सिफारिस गर्ने हाम्रो तयारी छ,” सूचना अधिकारी घिमिरेले भने ।

कम्पनी तथा फर्मको स्थलगत मूल्यांकन समेत गरिनेछ । सोहीअनुसार पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने उनले जानकारी दिए ।

“१५/२० वटा बाख्रा पालेर २५ लाख माग गरेको छ भन्दैमा त्यति दिइँदैन, सबै कुरा मूल्यांकन भएर हेरेर दिइन्छ,” उनले भने ।

सरकारले स्टार्टअप उद्यम कर्जाका निम्ति २५ करोड रुपैयाँ छुट्टयाएको छ । त्यसको करिब २५ प्रतिशत रकम कर्जा सुरक्षण कोषका लागि छुट्टयाएर बाँकी करिब १८ करोड रकम ऋण उपलब्ध गराउनेछ । ऋण उपलब्ध गराउन लगभग आधाजति रकम राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा हालिसकेको प्रतिष्ठानले जनाएको छ ।

तीन प्रतिशत ब्याजदरमा पाइने उक्त कर्जा दुई वर्षभित्र तिर्न सुरु गरिसक्नुपर्नेछ । पाँच वर्षभित्र सबै कर्जा भुक्तानी गर्नुपर्नेछ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट