शेयर बजार २३ अंकले बढेर २१ सय १५ विन्दुमा उक्लियो

लगातारको वृद्धिसँगै शेयर बजार २१ सय अंकबाट माथि उक्लिएको छ । साताको पहिलो दिनदेखि निरन्तर उच्च अंकको वृद्धि हुँदै आएको शेयर बजार मापन गर्ने नेप्से परिसूचक मंगलबारको वृद्धिसँगै २१ सय अंकमाथि उक्लिएको हो ।
मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव एक चार प्रतिशत अर्थात् २३ दशमलव नौ चार अंकले बढेर २१ सय १५ दशमलव नौ चार अंकमा उक्लिएको छ । यसदिन विकास बैंक र व्यापार बाहेका समूहले समग्र परिसूचक बढेको हो । वित्त समूहको परिसूचक सबै भन्दा धेरै ३ दशमलव पाँच पाँच प्रतिशतले बढेको छ ।
यस्तै, जलविद्युत समूहको परिसूचक २ दशमलव एक छ प्रतिशतले बढ्दा वाणिज्य बैंक समूहको परिसूचक एक दशमलव सात सात र लघुवित्त समूहको परिसूचक १ दशमलव चार सात प्रतिशतले बढेका छन् । बाँकी बढेका समूहको परिसूचक एक प्रतिशत भन्दा कमले बढेका छन् । बढेको बजारमा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
दिनभर कुल ३ सय १७ कम्पनीका १ करोड ३२ लाख ४१ हजार कित्ता शेयर ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । अघिल्लो दिन १ करोड ४३ लाख ७० हजार कित्ता शेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरमा किनबेच भएको थियो । कारोबार रकमको आधारमा मंगलबार पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ ।
पोखरा फाइनान्सको २४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । मंगलबार बढेको बजारमा जानकी फाइनान्स कम्पनी लिमिटेड, नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड, इस्टर्न हाइड्रोपावर लिमिटेड, कुथेली बुखारी स्मॉल हाइड्रोपावर लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पनि सर्किट लेबलमा बढेको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया