कसैको अनुहार हेरेर करका दर परिमार्जन गरेको होइनः अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यबारे कसैको अनुहार हेरेर करका दर परिमार्जन नगरिएको दाबी गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले कच्चा पदार्थ अनुसार नै भन्सार दर र अन्तशुल्क कायम गरिएको बताएका हुन् ।
‘कच्चा पदार्थ अनुसार नै भन्सार दर र अन्तशुल्क कायम गरिएको हो,’ उनले भने ‘करका दर औचित्यसहित परिवर्तन गरिएको हो ।’ अर्थमन्त्री पुनले स्क्र्यापमा १ प्रतिशत, स्पन्जमा २.५ प्रतिशत र बिलेटमा ५ प्रतिशत भन्सार शुल्क लगाइएको बताएका छन् । आफूहरू सीमाले दिएसम्म निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न थालेको बताउँदै अब पनि निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनले जानकारी दिए ।
चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटमा गरिएका प्रक्षेपणको कारण पनि यसपटक दबाब परेको बताए । ‘बजेट निर्माणको क्रममा धेरै हतारोजस्तो, दबाबजस्तो र राजनीतिक रूपले पनि संसद्मा बजेट पेश हुन्छ कि हुन्न भन्ने अवस्थामा हामी थियौँ’, ‘अहिले यहाँसम्म आउँदा आज रिल्याक्स मुडमै छौं’ मन्त्री पुनले भने ।
यस्तै, मन्त्री पुनले कृषि मन्त्रालयसँग नै कुरा गरेर मलका लागि अनुदान छुट्याइएको बताए । उनले बजेटमा केही प्राविधिक त्रुटी देखिएपनि अन्य हिसाबले सही रहेको बताएका छन् । उनले चितवन, पोखरा र लुम्बिनी क्षेत्रलाई आर्थिक गतिविधिको त्रिभुजका रूपमा विकास गर्न खोजेको पनि जानकारी दिए । उनले बजेट बोक्ने झोला नेपाली प्रयोग भएको र अब आफ्नो मन्त्रालयमा नेपाली फर्निचर मात्रै प्रयोग गर्ने योजना रहेको समेत बताए ।
उनले पूर्वाधार निर्माणको काम दुई सिफ्टमा गरेर पनि छिटो आयोजना सकौं भन्ने नीति सरकारले लिएको बताए । सरकारले बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको र यो एक्लैको प्रयासले नहुने उनले बताए । निजी क्षेत्र, किसान र सरकारको संयुक्त प्रयासमा कृषिलाई व्यावसायिक बनाउन खोजिएको उनको भनाइ छ ।
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटले युवा पुस्तालाई नयाँ अवसर देखाएको समेत बताएका छन् । आम जनतामा आशा जगाउने प्रयत्न गरिएको अर्थमन्त्रीको भनाइ छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया