कर्जा प्रवाहको वृद्धिदरमा सङ्कुचन
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा नेपालको कर्जा प्रवाहमा उल्लेखनीय सङ्कुचन देखिएको छ । कुल आन्तरिक कर्जा ०.८ प्रतिशतले घटेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २.३ प्रतिशतको गिरावटसँग तुलना गर्दा केही सुधारको सङ्केत हो, तर हालको अवस्था आर्थिक अनिश्चितताको स्पष्ट चित्र प्रस्तुत गर्दछ ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु आव २०८१/८२ को पहिलो महिनामा सरकारमाथिको मौद्रिक क्षेत्रको खुद दाबी ७.० प्रतिशतले घटेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो १३.८ प्रतिशतको गिरावटमा थियो । वार्षिक आधारमा भने, २०८१ साउन मसान्तमा दाबी १२.२ प्रतिशतले वृद्धि भएको छ ।
निजी क्षेत्रको कर्जा प्रवाह
समीक्षा अवधिमा, बैङ्क र वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४ अर्ब ११ करोड रुपैयाँ ०.३ प्रतिशतले बढेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब ३५ करोड रुपैयाँ ०.१ प्रतिशतको गिरावटको तुलनामा सकारात्मक संकेत हो । वार्षिक आधारमा, २०८१ साउन मसान्तमा निजी क्षेत्रको कर्जा ६.२ प्रतिशतले बढेको छ ।
गत साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको ६३.४ प्रतिशत गैरवित्तीय संस्थागत क्षेत्रतर्फ र ३६.६ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ गएको छ । यद्यपि, विकास बैङ्कहरूको कर्जा प्रवाह ०.३ प्रतिशतले घटेको छ भने वाणिज्य बैङ्क र वित्त कम्पनीहरूको कर्जा प्रवाह क्रमशः ०.३ र १.१ प्रतिशतले बढेको छ ।
निक्षेप र कर्जा संरचना
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ४३ अर्ब ४५ करोड ९०.७ प्रतिशत०ले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने निक्षेप १३३ अर्ब २४ करोड रुपैयाँ ९२.३ प्रतिशत०ले घटेको थियो। वार्षिक आधारमा, २०८१ साउन मसान्तमा निक्षेप १४.९ प्रतिशतले वृद्धि भएको छ ।
बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.०, ३०.३ र ५७.५ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा बचतको अंशमा वृद्धि देखिएको छ, जसले भविष्यमा कर्जा प्रवाहमा सकारात्मक प्रभाव पार्न सक्छ ।
विभिन्न क्षेत्रका लागि कर्जा प्रवाह
समीक्षा अवधिमा विभिन्न क्षेत्रका लागि कर्जा प्रवाहमा पनि विभिन्नता देखिएको छ । कृषि क्षेत्रतर्फ प्रवाहित कर्जा ०.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फ ०।१ प्रतिशतले, यातायात र सार्वजनिक सेवा क्षेत्रमा १.६ प्रतिशतले, सेवा उद्योगमा ०.६ प्रतिशतले वृद्धि भएको छ। जबकि, निर्माण र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा क्रमशः ०.४ र ०.२ प्रतिशतले घटेको छ ।
अधिविकर्ष कर्जामा तीन प्रतिशतको गिरावट र नगद प्रवाह कर्जामा ०.२ प्रतिशतको गिरावटले बजारमा थप चुनौतीहरू सिर्जना गर्न सक्छ ।
कर्जा प्रवाहको वृद्धिदरमा सङ्कुचनले नेपालको आर्थिक विकासलाई चुनौती दिएको छ । यद्यपि केही क्षेत्रहरूमा सकारात्मक वृद्धि देखिएको छ, तर समग्रमा आर्थिक अनिश्चितता र उच्च महँगाईले कर्जा प्रवाहमा नकारात्मक प्रभाव पारिरहेको छ । नेपालका बैङ्क र वित्तीय संस्थाहरूले कर्जा वितरणमा सतर्कता अपनाउनुपर्ने र नयाँ रणनीतिहरूको खोजी गर्नुपर्ने आवश्यकता छ । यसले दीर्घकालीन आर्थिक स्थायित्व र विकासका लागि महत्त्वपूर्ण हुनेछ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया