पुर्खाको बिँडो धान्दै नाति पुस्ता
बालाराम शेर्पाली, रुकुमपूर्व
आरनमा बनाउनुपर्ने सबै सामग्री बजारमा सस्तो मूल्यमा पाउने हुँदा पछिल्लो समय समय देशका विभिन्न ठाउँमा विश्वकर्मा समुदायले अँगाल्दै आएको आरन पेशा लोप हुन थालेको छ । युवा पुस्ताले यस पेसाप्रति चासो नहुँदा हस्तान्तरण हुन सकेको छैन । पछिल्लो समय यस पेसा छाड्ने क्रम बढे पनि रुकुम पूर्वका विश्वकर्मा समुदायले भने यसलाई निरन्तरता दिँदै आएका छन् । रुकुम पूर्वका मनिलाल विक आफूले विगतदेखि नै यही पेशालाई अँगाल्दै आएको बताउँछन् ।
बाजे मने कामी १२ वर्षको उमेरदेखि फलामको भाँडाकुँडा बनाउन आफ्नो कर्मथलो छोडेर साविकको राङ्सी गाविस राङ्सी गाउँदेखि साविकको मोराबाङ गाविस अर्थात् भूमे गाउँपालिकाको वडा नम्बर ३ को झुम्लाबाङ आइपुगेको मनिलाल बताउँछन् । उनी भन्छन्, ‘मेरा बाजे सीपसँगै जन्मस्थान छोडेर आरन व्यवसाय सञ्चालन गर्न झुम्लाबाङ गाउँमा करिब एक सय १० वर्ष अगाडि आएका थिए । अहिले त्यही व्यवसायलाई निरन्तरता दिँदै आएको छु ।’
बाजेको पालादेखि शुरु भएको आरन व्यवसाय अहिलेसम्म जसोतसो चलाउँदै आएको उनी बताउँछन् । मनिलाल भन्छन्, ‘ऊ बेला बाजेले खलो प्रथामा काम गर्नुभयो । अहिले निकै दुःख हामीले खेप्नु परेको छ । बाजेले गरेको पेशा आरन व्यवसाय अहिलेको वर्तमान अवस्थामा संकटमा परेको छ ।’ फलामको भाँडाकँुडा बनाउन फिरन्ते जीवन, खरले बनाएको छाप्रोमा आरन बसेको देख्न सकिन्छ ।
सोही गाउँका ५२ वर्षीय मनभक्त विक आरनको छाप्रोमा दैनिक काम गर्दै गरेको अवस्थामा भेटिन्छन् । अनुहारभरि कालोमोसो दलिएको अवस्थामा दाहिने हातले घन र अर्को हातले सनासोले रातो फलाम समातेको अवस्थामा उनी भेटिन्छन् ।
विक बिहान झिसमिसेमै उठ्ने बित्तिकै फलामको विभिन्न औजारहरु बनाउन आरनमा पुग्छन् ।
आरन व्यवसाय जस्ता परम्परागत पेशा केवल आर्थिक उपार्जन मात्र होइनन् यो संस्कृति, पहिचान पनि हो । मनिलाल, मनभक्तहरुलाई हेर्न सकिन्छ कसरी एक परिवारको परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने गर्दछ । यस पेशाले जेनतेन जीविका चलाउने माध्यमको रूपमा काम त गरेकै छ, यसले इतिहास र सांस्कृतिक सम्पदालाई पनि जोगाएको छ ।
आरन व्यवसाय विशेषगरी विश्वकर्मा समुदायमा जरा गाडेको थियो । यस पेशामा काम गर्ने व्यक्तिहरूले औजार र भाँडाकुँडा निर्माण गर्नका लागि विशेष सीप र दक्षता आवश्यक पर्दछ । मनिलाल र मनभक्तका जस्ता व्यक्तिहरूले आफ्नो पूर्वजहरूको परम्परा सँगै यो सीपलाई निरन्तरता दिइरहेका छन् । यसले युवा पुस्तामा चासोको कमी भए तापनि परम्परागत पेशालाई जोगाउने र त्यसमा गर्व गर्ने महत्व दर्शाउँछ ।
युवाहरूले नयाँ पेशाहरूमा ध्यान केन्द्रित गर्दा आरन पेशा संकटमा परेको छ । यसले परम्परागत सीप र ज्ञानको कमी निम्त्याउँछ । परम्परागत पेशाले समुदायमा एकता, पहिचान र संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्दछ । यदि यो व्यवसाय लोप हुन्छ भने त्यसले केवल आर्थिक क्षति मात्र होइन, सांस्कृतिक धरोहरको पनि हानि गर्दछ ।
यस्तो अवस्थामा समुदायका अगुवाहरू विशेषगरी विश्वकर्मा समुदायका सदस्यहरूले युवा पुस्तालाई प्रेरित गर्न र परम्परागत सीपको महत्वबारे शिक्षित गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ । आरन व्यवसायलाई बचाउने प्रयासहरूमा शैक्षिक कार्यक्रम, कार्यशाला र सामुदायिक गतिविधिहरू समावेश गर्नाले युवा पुस्तामा चासो बढाउन सकिन्छ । आरन व्यवसाय जस्ता परम्परागत पेशाहरूको संरक्षण र प्रवद्र्धन गर्न अत्यावश्यक छ, ताकि भविष्यका पुस्ताहरूले आफ्ना पुराना पथहरू र सांस्कृतिक धरोहरलाई भुल्न नपरोस ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया