Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनद्वारा ठगी


काठमाडौं । प्रभु बैंकका पूर्वअध्यक्ष तथा नेकपा एमालेका समानुपातिक सांसद देवीप्रकाश भट्टचनमाथि ठगीको आरोपमा नेपाल राष्ट्र बैंक र प्रहरीका विभिन्न निकायमा उजुरी परेको छ । प्रभु मनी ट्रान्सफरका संस्थापक एवं अध्यक्ष तथा डिस होम मिडिया नेटवर्कका मालिक रहेका भट्टचनमाथि सहकारीमार्फत भुक्तानी गर्नुपर्ने ९८ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

सहकारीमार्फत भुक्तानी रकमको हिनामिना

प्रभु मेनेजमेन्टकी अध्यक्ष कुसुम लामाले भट्टचनविरुद्ध नेपाल राष्ट्र बैंक र प्रहरीका विभिन्न युनिटमा उजुरी दिएकी छन् । उजुरी अनुसार भट्टचनले विदेशबाट आएको रेमिट्यान्स रकम नेपालमा विभिन्न सहकारीमार्फत भुक्तानी दिनुपर्नेमा हुण्डीको माध्यमबाट विदेशमै रकम बुझ्ने गरेको खुलासा भएको छ ।

राष्ट्र बैंकको कारबाही अवरोध र सिइओ शेरचनको संलग्नता

भट्टचनमाथि छानबिन अघि बढाउन राष्ट्र बैंकले प्रारम्भिक प्रक्रिया थालेको भए पनि उनी राजनीतिक र वित्तीय प्रभावका कारण कारबाहीबाट जोगिएका छन् । भट्टचनलाई जोगाउन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन पनि सक्रिय रहेका छन् । शेरचन र भट्टचन एउटै व्यावसायिक समूहका सदस्य हुन्, जसले मिलेर नियमविपरीत बैंकको कर्जा विभिन्न कम्पनीमा प्रवाह गर्दै आएका छन् । स्रोतका अनुसार, ती कर्जा समेत डुब्ने अवस्थामा पुगेको छ ।

भट्टचनको गिरफ्तारी रोक्न दौडधुप

भट्टचन पक्राउ परेमा बैंकका अन्य अनियमित क्रियाकलाप पनि बाहिर आउने सम्भावना देखिएपछि सिइओ शेरचनले अनुसन्धानमा अवरोध पुर्‍याउन राष्ट्र बैंकलाई प्रभावमा पार्ने प्रयास गरिरहेका छन् । बैंक स्रोतका अनुसार, शेरचनले राष्ट्र बैंकमा आफ्नो प्रभाव प्रयोग गरेर भट्टचनलाई कारबाहीबाट जोगाउन लागिपरेका छन् ।

प्रहरी छानबिन

कुसुम लामाले सरकारी वकिल कार्यालयमार्फत उजुरी दर्ता गरेपछि काठमाडौं प्रहरी परिसरले मुद्दाको छानबिन थालेको छ । काठमाडौंका एसएसपी बसन्त रजौरेले सरकारी वकिल कार्यालयबाट आएको उजुरीको आधारमा प्रमाण संकलन र अनुसन्धान अघि बढाइएको बताए ।

प्रभु मेनेजमेन्टले राष्ट्र बैंकलाई प्रभु मनी ट्रान्सफरविरुद्ध कारबाहीको माग गर्दै उजुरी गरेको छ, जसमा प्रभु मनी ट्रान्सफरको गलत वित्तीय व्यवहारले सहकारीहरूको भुक्तानीमा असर पुर्याएको उल्लेख गरिएको छ । सहकारीहरूले प्रभु मेनेजमेन्टलाई पाउनुपर्ने रकम नपाएपछि प्रभु मनी ट्रान्सफरको विश्वसनियतामा समेत प्रश्न उठ्न थालेको छ ।

बैंकको नियमन प्रणालीप्रति आशंका

यस घटनाले प्रभु मनी ट्रान्सफरको सञ्चालन र राष्ट्र बैंकको नियमन प्रणालीप्रति गम्भीर सवाल खडा गरेको छ । जसमा प्रमुख कार्यकारी अधिकृत शेरचनको भूमिकालाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ ।

 

<iframe src=”https://www.facebook.com/plugins/video.php?height=420&href=https%3A%2F%2Fwww.facebook.com%2Fsamayabaddh%2Fvideos%2F1116139713374884%2F&show_text=false&width=560&t=0″ width=”560″ height=”420″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट