डलरको विकल्प खोजे शतप्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई डलरको विकल्प नखोज्न चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले डलरको विकल्प खोज्ने प्रयास गरिरहेका ब्रिक्स राष्ट्रहरूलाई शतप्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएका छन् बीबीसीले जनाएको छ ।
ब्रिक्समा विश्वका दुई ठूला उदीयमान अर्थतन्त्र चीन र भारत पनि पर्छन् । ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत ब्रिक्स देशहरूले डलरको विकल्प खोज्न गरिरहेको प्रयासलाई अमेरिकाले मूकदर्शक बनेर हेर्न नसक्ने बताउँदै डलरको विकल्प खोजेमा शतप्रतिशत करको सामना गर्नुपर्ने चेतावनी दिएका हुन् । ट्रम्पले ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरलाई चुनौती दिन खोजे उनीहरूलाई अमेरिकी बजारमा आफ्ना उत्पादनहरू बेच्न रोक लगाउनुपर्ने बताएका छन् ।
गएको अक्टोबरमा रुसको कजान शहरमा ब्रिक्सको बैठकका क्रममा सदस्य राष्ट्रहरूबीच सीमापार भुक्तानीका लागि नयाँ प्रणाली विकास गर्नेबारे छलफल भएको थियो । तर बैठकमा ब्रिक्सको साझा मुद्रा ल्याउने विषयमा कुनै छलफल भएन ।
चुनावी अभियानका क्रममा ट्रम्पले गरेका वाचामध्ये चिनियाँ उत्पादनमा ६० प्रतिशतसम्म भारी शुल्क लगाउने विषय पनि समावेश थियो । ट्रम्पको घोषणापछि विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध चर्किने डर बढेको छ ।
ब्रिक्स राष्ट्रमा चीन, भारतसहित ब्राजिल, रुस र दक्षिण अफ्रिका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
प्रतिक्रिया