दुई अर्ब ३४ करोड विद्युतको बिल नतिरी शिवम् सिमेन्टले ग-यो लाभांश घोषणा
काठमाडौं । शिवम् सिमेन्टले २०७२ सालदेखि ०७५ सम्म प्रयोग गरेको डेडिकेटेड फिडरको एक अर्ब २१ करोड महसुल तिर्न बाँकी छ ।
त्यसको जरिवानासहित दुई अर्ब ३४ करोड रुपैंया विद्युत प्राधिकरणलाई तिर्नु पर्ने देखिन्छ । प्राधिकरणलाई तिर्न बुझाउनु पर्ने रकम नतिरी शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको हो ।
ठूला मिडियासँग साँठगाँठ, राजनीतिक दलका नेतालाई समेत प्रभाव
शिवम् पहिलेदेखि नै नेपालमा कर्पोरेट भनिएका मिडिया र राजनीतिक दलका नेतालाई आफ्नो प्रभावमा राखेको उद्योगले पैसा नतिर्ने भन्दै सर्वोच्च अदालत समेत गएको थियो । तर, सर्वोच्चले प्राधिकरणको पक्षमा फैसला गरे पनि हालसम्म बिद्युतको महशुल तिरेको छैन ।
उद्योगले भने आफूले डेडिकेटेड लाइन प्रयोग नगरेको दावी गर्दै पैसा नतिर्ने बताउँदै आएको छ । यता प्राधिकरण हेटौंडा वितरण शाखाले भने शिवम्ले डेडिकेटेड लाइन नै प्रयोग गरेको बताउने गरेको छ ।
केन्द्रबाटै विद्युतको महशुल तिर्नु भन्नु तर लाइन नकाट्न भन्ने ठाडो आदेश आएकोले हेटौंडा वितरण शाखाले उद्योगको लाइन काट्न भने सकेको छैन । आजको मितिसम्म पनि प्राधिकरणले उद्योगलाई कुनै कारवाही गर्न सकेको छैन ।
ठूला लगानीका कर्पाेरेट मिडियाका मालिकसँग उद्योगको साँठगाँठले गर्दा शिवम्को अनियमितता र कर्तुत ठुला मिडियाले सार्वजनिक गर्दैनन् ।
सुशासन र वित्तीय अवस्था झनै कमजोर
उद्योगको सुशासन र पारदर्शितामा ह्रास आएको कारण शिवम् सिमेन्टको वित्तीय अवस्था क्रमशः घट्दै गएको छ ।
सरकारको पुँजीगत खर्च कमजोर, निर्माण क्षेत्र चलायमान नहुँदा शिवम् सिमेन्ट उद्योगको आर्थिक अवस्था झनै धराशायी बनेको छ । बजारमा सिमेन्टको माग घटेर उद्योगले उत्पादन कटौती गर्दै आएको छ ।
प्रिमियममा आईपीओ निश्कासन गरेर जनताको मोटो रकम सित्तैमा कुम्ल्याउन सफल उद्योगले प्रिमियममा लिएको रकम जति पनि हालसम्म गरेर लाभांश दिन सकेको छैन । तिरोभरो रकम उच्च रहँदा भित्रभित्रै टाट पल्टिन लागेको उद्योग यदि टाट पल्टियो भने लाखौं नेपाली जनताको धन डुब्नेमा शंका छैन ।
प्रिमियममा आईपीओ तर झिनो लाभांश
प्रिमियममा आइपीओ ल्याए पनि शिवम् सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई जम्मा ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । पुस २९ गते बस्ने वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
कम्पनीले पुष २९ गते राष्ट्रिय सभा गृह भुकृटीमण्डपम साधारण सभा बोलाउने निर्णय पनि गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुकक्लोज गर्दैछ ।
पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
यो पनि पढ्नुहोस,
शिवम् सिमेन्टको कर विवादः न्यायाधीश सपना मल्लको विवादास्पद निर्णय
क्याटेगोरी : अर्थ
प्रतिक्रिया