Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

डाडु–पन्यु आफ्नो हातमा पर्दा भाँडै घोप्ट्याए 


अस्मिता क्षेत्री
प्रम ओलीको असली अनुहार उदाङ्गो हुँदै
नेपाली कांग्रेसको टेकोमा उभिएको केपी ओली नेतृत्वको वर्तमान सरकारले जनजीविकाका महत्वपूर्ण सवाललाई पन्छाएर के–कस्ता जनविरोधी कदम चालिरहेको छ भन्ने अब कसैसामु छिपेको छैन । केवल कुर्सी र सत्ता टिकाउन उसले कुनै पनि हर्कत बाँकी नराख्ने पनि जगजाहेरै छ । र, त यो गठवन्धन सरकार जनताबाट दिनप्रतिदिन तिरस्कृत मात्रै बनिरहेको छैन, आफ्नो असली रुप देखाएर उदाङ्गो हुँदै गएको छ । यद्यपि आफ्नो आयु अनिश्चित बने पनि यो सरकारले अनेक हत्कण्डा अपनाएर राज्यको सम्पत्तिमा भने बह्मलूट मच्चाइनै रहेको छ । आफू र आफ्ना आसेपासे पोस्न प्रधानमन्त्री ओली तथा उनका हनुमानहरूले विगतदेखि नै गरेको योजनावद्ध छलकपट, षड्यन्त्र अनि अनेकन तिकमड आफैंमा निकै घिनलाग्दो छ ।
ओलीको नीतिगत–संस्थागत कर्तुतको फेहरिस्त नियाल्दा विगतबाटै कुइगन्ध आउँछ । गत वर्ष पुसमा नै आर्थिक वर्ष २०८१/०८२ मा बजेटको मापदण्डका सन्दर्भमा तीन करोडभन्दा कम लागतका योजनामा संघबाट बजेट विनियोजन नगर्ने भने मन्त्रिपरिषद्ले नै निर्णय ग¥यो । गत जेठ १५ मा ल्याइएको बजेटमा मन्त्रिपरिषद््कै त्यो निर्णयको ठाडै उल्लंघन भयो । यो बजेटमा संघीय सरकारले एक लाख दरका झण्डै एक हजारजति कार्यक्रमले ठाउँ पाए । एउटा वडाले आफ्नो पालिकामा समेत नलगी आफैँले गर्न सक्ने काम पनि संघीय सरकारको बजेटमा आयो । संघीय सरकारको बजेटमा एक लाख रुपैयाँबाट निर्माण गरिने भनी भवन, सडक, नाला, पार्क, स्मृति गेट, मन्दिर र गुम्बा निर्माण तथा स्तरोन्नति, पहुँचमार्ग अध्ययन, सिँचाइ योजना, वातावरण परीक्षण, गुरुयोजनाका लागि अध्ययनलगायत शीर्षकहरू उल्लेख भएका छन् । अर्कातर्फ, एउटा मन्त्रीको निर्वाचन क्षेत्रमा पूरै एउटा सिंगो प्रदेश कर्णालीका १० वटा जिल्लाले पाए जति रकम विनियोजन भएको छ । यिनै मन्त्रीको दल नेकपा एमालेका अध्यक्ष हालका प्रम ओलीको गृह जिल्ला झापाको निर्वाचन क्षेत्रमा पनि १० वटा जिल्लाले पाएजतिकै रकम विनियोजन भएको छ । यसको दृष्य–अदृष्य खेलाडी ओली नै हुन् ।
उसो त आर्थिक वर्ष २०८१/८२ को बजेट रु १८ खर्ब ६०.३ अर्ब कुल विनियोजित रकम हो । यो भनेको गत आवकोभन्दा ६.२% ले बढी हो । यसमा तीन खर्ब ५२ अर्ब कुल पुँजीगत÷विकास खर्च छ । रु. ११ खर्ब ४० अर्ब कुल चालू÷नियमित खर्च छ । यस्तै, रु. तीन खर्ब ६७ अर्ब वित्तीय व्यवस्थापन र १२ खर्ब ६० अर्ब राजस्व देखिन्छ । त्यतिबेला प्रतिनिधिसभाको बैठकमा बजेटमा छलफल चलिरहँदा सांसदहरू आक्रोशित बने । उनीहरू धेरैको आक्रोश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट केन्द्रित रह्यो । विशेष, शून्य तथा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनीहरू आक्रोशित भएका हुन् । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको निर्वाचन क्षेत्र धनुषा–४ हो । उनकी श्रीमती जुली महतोको निर्वाचन क्षेत्र धनुषा–३ हो । तथ्यांकअनुसार धनुषामा आठ अर्ब ७७ करोड र झापामा छ अर्ब ७० करोड बजेट हालिएको छ । तर, कर्णाली प्रदेशका १० वटा जिल्लामा कुल सात अर्ब ३६ करोडमात्रै छ । धनुषा गृहजिल्ला भएका सत्तारूढ दलका सांसद पनि भौतिक मन्त्रालयको बजेट प्रति सन्तुष्ट छैनन् । के झापा र धनुषामा १५ अर्ब ४७ करोड विनियोजन गरिएको हो ? यहाँ कस्ता कार्यक्रममा बजेट राखिएको छ ?
बजेट प्रस्तुत हुनुभन्दा पहिले जेठ १२ गते शनिवार राति अर्थ मन्त्रालयमा भौतिक मन्त्री महासेठले सडक विभागका तत्कालीन महानिर्देशक सुशीलबाबु ढकालसहित १२ जनाको टिम पठाएका थिए । शनिवार साँझदेखि आइतवार बिहान तीन बजेसम्म भौतिक पूर्वाधारकेन्द्रित कार्यक्रम उनीहरूले घुसाएका थिए । यो समयमा लाइन मिनिस्ट्री बजेट इन्फरमेसन सिस्टम (एलएमबीआईए) ‘लक’ गरिएको हुन्छ । यो प्रणाली ‘लक’ गरेपछि सम्बन्धित मन्त्रालयले नयाँ कार्यक्रम हाल्न पाउँदैन । तर, भौतिकको टिम अर्थ मन्त्रालय नै पुगेर मनपरी कार्यक्रम हाल्यो । स्रोतका अनुसार, भौतिक मन्त्रालयले कार्यक्रम टुंगो लगाउने, फेरि ओलीनिवास गएर अन्तिम रूप दिने र संशोधन गर्ने काम गरेर शनिवारको  दिनभर अर्थ मन्त्रालय टिमलाई हैरान पारियो । भौतिकले मनपरि कार्यक्रम हाल्न थालेपछि बजेटको आकार निकै बढ्यो । पछि अन्य मन्त्रालय र विशेषगरी नेकपा (माओवादी केन्द्र) का नेताकेन्द्रित कार्यक्रम नै कम पारेर बजेट घटाउने काम गरियो । बजेट आउनुअघि यसरी मनपरि गरेको भौतिक मन्त्रालयले वार्षिक विकास कार्यक्रममा पनि मुख्यतया दुईवटा छल गरेको पाइन्छ । पहिलो, विकास कार्यक्रमअन्तर्गत राखिएको छ सय ८३ वटा योजनाका लागि कति कति बजेट हो भनेर विभाजन गरिएको छैन । कार्यक्रमको नाममात्रै उल्लेख छ । दोस्रो, विभाजन गरिएको बजेट कहाँ कार्यान्वयन गरिने हो भनेर जिल्ला वा स्थानीय तहको नाम उल्लेख गर्नुपर्ने हुन्छ । तर, यहाँ दर्जनौं कार्यक्रममा जिल्ला वा स्थानीय तहको नाम उल्लेख छैन, जुन नीतिविपरीत कार्य हो ।
भौतिकको बजेट पुस्तिका तथा वार्षिक विकास कार्यक्रममा उल्लिखित तथा जिल्ला÷स्थानीय तहको नाम उल्लेख गरेर बजेट विनियोजन गरिएमध्ये झापामा पर्ने तथा झापाका निकायबाट कार्यान्वयन हुने बजेटमात्रै छ अर्ब ८० करोड देखिन्छ । धनुषाका भने यस्ता कार्यक्रम दुई अर्ब ७३ करोडबराबरका देखिन्छन् । कार्यक्रम उल्लेख गरिएका तर बजेट विभाजन नगरिएका छ सय ८३ वटा योजनामध्ये धनुषाकै धेरै छन् । त्यस्तै मन्त्रालयले बजेट राखेको तर कहाँ कार्यान्वयन हुने भनेर उल्लेख नगरेका कार्यक्रम पनि धेरैजसो धनुषाकेन्द्रित देखिन्छन् । रातो किताबमा धनुषामा दुई अर्ब ७३ करोडको हिसाब भेटिन्छ । तर, नाम उल्लेख नगरी पनि धेरै कार्यक्रम धनुषामा राखिएको छ । भौतिक मन्त्रालयको स्रोतबाट पाएको विवरणअनुसार, करिब नौ अर्ब रुपैयाँको बजेट धनुषामा छ । त्यसमा पनि धनुषा–३ र धनुषा–४ केन्द्रित छ । झापामा केन्द्रित बजेटमा मदन भण्डारी राजर्मागका लागि तीन अर्ब ५२ करोड बजेट विनियोजन गरिएमध्ये झापा केन्द्रित ९१ करोड छुट्याइएको छ । स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत झापाकेन्द्रित बजेट ३४ करोड ६५ लाख रुपैयाँ छ । रणनीतिक सडक पुल–पुलेसा कार्यक्रममा झापाकेन्द्रित तीन करोड ५१ लाख रुपैयाँ बजेट छ । यस्तै, राजमार्ग स्तरोन्नतिअन्तर्गत ११ करोड ७५ लाख रुपैयाँ, वैकल्पिक सहायक राजर्मागअन्तर्गत ४० करोड ६१ लाख रुपैयाँ बजेट झापामा विनियोजन गरिएको छ । काकडभित्ता–इनरुवा–नारायणगढ सडकअन्तर्गत १० अर्ब २१ करोड बजेटमध्ये झापा केन्द्रित चार अर्ब ९६ करोड छ । यसैगरी, निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत ११ करोड, मेट्रो तथा मोनोरेल विकास कार्यक्रमअन्तर्गत एक करोड ५० लाख रुपैयाँ झापामा विनियोजन गरिएको छ । त्यस्तै कार्यक्रमको नाम उल्लेख गरेर धनुषामा न्यूनतम पाँच लाखदेखि करिब ६० करोडसम्मका आयोजना राखिएको छ । तीनवटा वडा तहका कार्यक्रमका लागि पाँच लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । हुलाकी राजमार्गअन्तर्गत धनुषा जिल्ला कार्यालयबाट खर्च हुने बजेट ५८ करोड ८५ लाख रुपैयाँ छ ।
त्यसो त तीन करोडभन्दा कम लागतका योजनामा संघबाट बजेट विनियोजन नगर्ने पहिलेको मन्त्रिपरिषद््कै निर्णयविपरीत तत्कालिन सरकारले एक लाख रुपैयाँसम्मका दर्जनौं कार्यक्रममा बजेट छुट्याएको छ । स्रोत, आवश्यकता र औचित्य नहेरी शक्ति तथा पहुँचको भरमा निकै साना आयोजना संघकै बजेटमा समावेश गर्ने प्रवृत्ति नियन्त्रण गर्न भन्दै गत वर्ष पुस पहिलो साता मन्त्रिपरिषद्् बैठकबाट संघले तीन करोडभन्दा कम र प्रदेशले एक करोडभन्दा कम लागतका आयोजना कार्यान्वयन नगर्ने निर्णय भएको हो । ‘आयोजना वर्गीकरणको आधार तथा मापदण्ड २०८०’ मा उक्त व्यवस्था भए पनि बजेटमा पूर्ण बेवास्ता गरिएको छ । राष्ट्रिय महत्वका आयोजना संघले कार्यान्वयन गर्ने, कम लागतका काम प्रदेश र स्थानीय तहले गर्ने कानुनी व्यवस्था भए पनि बजेटमा पुरानै बेथिति ब्युँताइएको हो । यस्ता धेरै आयोजना सहरी विकास, भौतिक पूर्वाधार तथा यातायातलगायत विकासे मन्त्रालयमार्फत कार्यान्वयन गर्न खोजिएको छ । चालू वर्षको बजेटमा सहरी विकास मन्त्रालय–अन्तर्गतमात्रै एक लाखका योजना ९९ वटा छन् । यो आ.व.का लागि कम लागतका आयोजना थपेर बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ पु¥याइएको छ । स–साना आयोजनामा बढी बजेट विनियोजन गर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि पर्छ । यो मन्त्रालयअन्तर्गत पाँच लाखका दरले बजेट विनियोजन गरिएका योजना छ सय २६ वटा छन्– जसमा सबैभन्दा धेरै रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका आयोजना छन् । रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणअन्तर्गतका नौ सय २० योजनामध्ये चार सय २६ वटालाई पाँच लाखका दरले बजेट छुट्याइएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत पाँच योजना, स्थानीय सडक पुल निर्माणतर्फ दुई हजार ७६ योजनामध्ये दुई सय एकमा ५–५ लाखका दरले बजेट विनियोजन गरिएको छ । आगामी आ.व.का लागि भौतिक मन्त्रालयलाई एक खर्ब ५० अर्ब बजेट विनियोजन गरिएकामा धेरैजसो रकम टुक्रे आयोजनामा छुट्याइएको छ । रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणअन्तर्गत भांग्री पुल गण्डक क्यानल, बाराका लागि एक लाख रुपैयाँ विनियोजन गरिएको छ । खुलालु–लैफु कर्णाली र बागलुङको अमलाचौरस्थित कालीमारे खोला पुलका लागि २/२ लाख रुपैयाँ विनियोजन गरिएको छ । तत्कालिन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले ओलीकै योजनामुताविक वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गतका योजनाको जिल्ला नै नखुलाई मन्त्रालयको वार्षिक विकास कार्यक्रममा समेत बजेट विनियोजन गरेका हुन् ।

क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट