Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

लागत कटौती विना अमेरिका टाट पल्टिन्छ : एलन मस्क


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त गरेका संसारकै धनी व्यक्ति एलन मस्कले लागत कटौती विना अमेरिका टाट पल्टिने बताएका छन् ।

अर्बपति मस्कले नवनिर्मित सरकारी दक्षता विभाग (डीओजीई) को नेतृत्व गरिरहेका छन् । उनले आफ्नो अध्ययनबारे ट्रम्पलाई जानकारी गराउँदै बजेट कटौती विना अमेरिका टाट पल्टिने बताएका एएफपीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले पछिल्ला हप्ताहरूमा सङ्घीय खर्च घटाउने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । मस्कले गएको आर्थिक वर्ष १.८ ट्रिलियन डलरभन्दा माथि पुगेको देशको घाटा बजेटलाई औँल्याउँदै सार्वजनिक ऋणमा उच्च ब्याज भुक्तानीको लक्ष्य अघि सारेका छन् ।

यसैबीच ट्रम्पको एक कार्यकारी आदेशमा सङ्घीय कार्यबल घटाउने योजनाको विवरण समावेश गरिएको छ । योजनाले एजेन्सीहरूलाई प्रत्येक चारको सट्टा एक जना कर्मचारी नियुक्त गर्न निर्देशन दिएको छ । आदेशमा प्रत्येक एजेन्सीका प्रमुखले रिक्त पदहरू भर्ने निर्णय गर्दा डीओजीईसँग अनिवार्य परामर्श गर्नु आवश्यक हुनेछ ।

अमेरिकीहरूले रिपब्लिकन नेता ट्रम्पले निर्वाचन अभियानका क्रममा उठाएका मुद्दा अर्थात् ‘प्रमुख सरकारी सुधार’ को पक्षमा मतदान गरेका र सरकारले यसैलाई पछ्याउने मस्कको भनाइ छ ।

स्पेसएक्स र टेस्लाका प्रमुखसमेत रहेका मस्कले सम्भावित स्वार्थको द्वन्द्वबारे सोधिएको प्रश्नमा आफू सकेसम्म पारदर्शी हुन चाहेको बताएका छन्। अमेरिकामा मस्कको कम्पनीहरूले अमेरिकी सरकारबाट व्यापक लाभ लिइरहेको भनी खासगरी विपक्षी डेमोक्रेट्सहरूबाट आलोचना हुन थालेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट