विश्व व्यापार युद्ध खतराको असर सुनको मूल्यमा !
![](https://ap-south-1.linodeobjects.com/samayabaddha.com/2025/02/Gold.jpg)
काठमाडौं । विश्व बजारमा पहेंलो धातु सुनको भाउबढेसँगै नेपालमा पनि आज सुनको भाऊले नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुग्दै तोलाको रु. १,७०,२०० पुगेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले विश्व बजारमा ठूलो अस्थिरता सिर्जना गरेको छ । ट्रम्पले यसै हप्ताबाट आफ्ना छिमेकी राष्ट्र मेक्सिको र क्यानडाबाट आयत हुने स्टील र एल्युमिनियममा २५ प्रतिशत भन्सार कर लगाउने निर्णय गरेका छन् ।
चीनलाई भने उक्त वस्तुमा १० प्रतिशत भन्सार कर लगाउने निर्णय भएको छ । चीनले पनि बदलामा अमेरिकाबाट आयत हुने कोइला र कच्चा तेलमा भन्सार कर बढाइदिएको छ । यस्तै व्यापार युद्धको खतराले यसको प्रत्यक्ष असर सुनको मूल्यमा वृद्धि भएको जानकारहरु बताउँछन् ।
सुनलाई सदैव सुरक्षित सम्पत्ति मानिन्छ । इतिहास हेर्ने हो भने, जब विश्वमा आर्थिक वा राजनीतिक अस्थिरता देखिन्छ, लगानीकर्ताहरू सुनमा बढी रुचि देखाउँछन । २०२२ फ्रेबुअरीमा रुसले युक्रेनमाथि हमला गरेसँगै विश्व बजारमा तेल लगायत अरु वस्तुहरुको मूल्य वृद्धि हुन पुग्यो । मूल्यवृद्धिसँगै विश्वमा देखिएको आर्थिक मन्दीले गर्दा बिआरआईसिएस (BRICS) का देशहरुले अप्रत्याशित रुपमा सुन खरिद गर्न थालेका थिए । चीन, भारत लगायत अन्य देशहरुले अस्वभाविक रुपमा सुन खरिद गरेसँगै बजारमा यसको चाप बढेर मूल्य आकाशिएको हो ।
विश्व बजारको असरले नेपालमा पनि सुनको भाउ अप्रत्याशित रूपमा बढेको छ । दुई महिनाअघि मात्र नेपाल सरकारले व्यापारी तथा उपभोक्ताहरूको चर्काे दबाबपछि भन्सार शुल्क घटाउने निर्णय गरेको थियो । यस निर्णयपछि नेपालमा सुनको मूल्यमा केही गिरावट आएको थियो । अमेरिकाको राष्ट्रपतीय निर्वाचनपछि डोनाल्ड ट्रपको आगमन हुने र अन्तर्राष्टिय बजारमा केही स्थिरता आउने अपेक्षा गरिएको थियो ।
तर त्यसको ठिक विपरीत ट्रपको अनिश्चित नीतिका डरले अन्तर्राष्ट्रिय बजारमा थप अन्यौलता बढीरहेको छ । नेपाल सरकारले भन्सार शुल्क कम गरे पनि सुनको मूल्य घट्ने अपेक्षा पूरा भएन, बरु उल्टै नयाँ कीर्तिमान कायम भएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया