चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने अमेरिकी राष्ट्रपतिको घोषणा, विश्वव्यापी व्यापार युद्धको डर

वासिङ्टन, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् । साथै उनले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बढाएका छन्।
विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले विश्वव्यापी व्यापार युद्धको डर फैलाएको छ ।
अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले यस महिना क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । तर एक महिना लामो विश्राम मङ्गलबार समाप्त हुँदैछ ।
बेइजिङले अमेरिकी फेन्टानिलसम्बन्धी चिन्ताहरूलाई अस्वीकार गरेको छ र वासिङ्टनले अन्य देशहरूमाथि शुल्क लगाउनुको साटो आफैँ यो समस्या समाधान गर्नुपर्छ भनेको छ ।
अर्को हप्ता शुल्कमा अगाडि बढ्ने योजना छ कि छैन भन्ने पत्रकारहरूको प्रश्नपछि ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा जबसम्म फेन्टानिलको समस्या बन्द हुँदैन ‘वा गम्भीर रूपमा सीमित हुँदैन’ प्रस्तावित शुल्कहरू निर्धारित रूपमा हुने लेखेका छन् ।
“चीनलाई पनि त्यही मितिमा १० प्रतिशत थप शुल्क लगाइनेछ”, उनले मार्च ४ को सन्दर्भमा भने । यस महिनाको सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क वृद्धि गरे । यसबाट बेइजिङलाई जवाफी कारबाही गर्न उत्प्रेरित गर्यो ।
एक अमेरिकी अधिकारीले फेन्टानिलका कारण लगाइएको अवस्थित शुल्कमा नयाँ १० प्रतिशत शुल्क थपिएको पुष्टि गर्दै लागूपदार्थ मामिलामा ‘अपर्याप्त प्रगति’ भएको बताएका छन् ।
फेन्टानिल मुद्दालाई सम्बोधन गर्न वासिङ्टनले तीनवटै देशविरुद्ध कारबाही गर्नुपर्ने अधिकारीले बताए । चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले बिहीबार वासिङ्टनको अघिल्लो १० प्रतिशत शुल्कप्रति चिन्ता व्यक्त गरे ।
“चीन यसको दृढतापूर्वक विरोध गर्दछ र सम्बन्धित जवाफी कदमहरू चालेको छ”, नवनियुक्त अमेरिकी व्यापार प्रतिनिधि (युएसटिआर) जेमिसन ग्रिरलाई लेखेको पत्रमा वाङले भने ।
ट्रम्पको खतराबाट आफ्नो अर्थतन्त्रलाई जोगाउने योजना बनाउन चिनियाँ नेतृत्वको बैठक अर्को हप्ता बस्ने भएको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार ट्रम्पको धम्की शुल्कबाट बच्न उनीसँग कुरा गर्ने आशा गरेको बताए ।
एक उच्चस्तरीय मेक्सिकाली प्रतिनिधिमण्डल सम्झौताको खोजीमा वासिङ्टनमा छ । साथै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अधिकारीहरूले अमेरिकी करहरू रोक्न चौबीसै घण्टा काम गरिरहेको तर अर्को हप्ता उपायहरू लागु भएमा ‘तत्काल’ प्रतिक्रिया हुने बताए ।
संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने फेन्टानिल र कागजातविहीन आप्रवासीहरूको एक प्रतिशतभन्दा कम क्यानाडाको सीमाबाट आउने कुरामा ट्रुडोले बारम्बार जोड दिएका छन् ।
ट्रम्पको धम्कीले प्रमुख निर्यातक देशहरूमा कम्पन पैदा गरेको छ । टोकियोमा केही समयका लागि तीन प्रतिशतको गिरावटसँगै शुक्रबारको सुरुमा एसियाली बजारहरू रातो रङमा थिए ।
संयुक्त राज्य अमेरिकामा सीधै लागूपदार्थ आपूर्ति गरिनुको साटो गत वर्ष कंग्रेस रिसर्च सर्भिसको प्रतिवेदनले उल्लेख गरेअनुसार अमेरिकातर्फ जाने फेन्टानिल चीनबाट आउने रासायनिक अग्रदूत पदार्थहरू प्रयोग गरेर मेक्सिकोमा बनाइएको देखिन्छ ।
पारस्परिक शुल्क
फेन्टानिलमाथि कर लगाउने बाहेक ट्रम्पले ट्रुथ सोसलमा तथाकथित पारस्परिक शुल्कका लागि अप्रिल २ को मिति ‘पूर्ण बल र प्रभावमा रहनेछ’ भने ।
यी शुल्कहरू प्रत्येक अमेरिकी व्यापार साझेदारका लागि अनुकूलित हुनेछन् । ट्रम्पले व्यापार मुद्दाहरूमा आह्वान गरेका अध्ययनहरू सरकारी निकायहरूले पूरा गरेपछि विवरणहरू आउनेछन् ।
ग्रिरलाई लेखेको पत्रमा वाङले ट्रम्पले ‘चीनलाई लक्षित गरी’ धेरै व्यापार अनुसन्धानहरूको आह्वान गरेके र दुवै पक्षलाई संवादमार्फत आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको लेखेका छन् ।
बेइजिङले अमेरिकी फेन्टानिलसम्बन्धी चिन्ताहरूलाई अस्वीकार गरेको छ र वासिङ्टनले अन्य देशहरूमाथि शुल्क लगाउनुको साटो आफैँ यो समस्या समाधान गर्नुपर्छ भनेको छ ।
संयुक्त राज्य अमेरिकामा सीधै लागूपदार्थ आपूर्ति गरिनुको साटो गत वर्ष कंग्रेस रिसर्च सर्भिसको प्रतिवेदनले उल्लेख गरेअनुसार अमेरिकातर्फ जाने फेन्टानिल चीनबाट आउने रासायनिक अग्रदूत पदार्थहरू प्रयोग गरेर मेक्सिकोमा बनाइएको देखिन्छ ।
केही अग्रदूतले अन्तर्राष्ट्रिय नियन्त्रणको सामना गरे पनि अन्य चीन जस्ता देशहरूबाट कानुनी रूपमा निर्माण र निर्यात गर्न सकिन्छ । फेब्रुअरीको सुरुमा चीनको विदेश मन्त्रालयले नयाँ शुल्कहरूले लागूपदार्थविरुद्धको सहकार्यलाई हानि पुर्याउन सक्छ भनी चेतावनी दिएको थियो । रासस/एएफपी
क्याटेगोरी : अर्थ
प्रतिक्रिया