शेयर बजार २५ अंकले घट्यो

काठमाडौं, २१ फागुन । सेयर बजारमा आज पनि कारोबार घटेको छ । मंगलबार ३० अंक घटेको बजारमा आज २५.१६ अंक घटेको हो । आज समग्र बजार मापक २,८२१.१३ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
आज ६२ कम्पनीको सेयरमूल्य बढ्दा १७४ कम्पनीको घटेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । यसदिन १० अर्ब ९७ करोड रुपैयाँ बराबरको दुई करोड ३३ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । मंगलबार १२ अर्ब ९४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
समाज लघुवित्त र गार्डियान माइक्रो फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यस्तै, माउन्टेन हाइड्रो, गुँरास लघुवित्त, सामुदायिक लघुवित्त उच्च कमाउने शीर्ष स्थानमा रहे ।
यस्तै, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रो उच्च गुमाउने शीर्ष कम्पनीमा परे ।
समूहगत सूचकतर्फ व्यापारबाहेक बाँकी सूचक राताम्मे रहे । व्यापार सूचक ०.४३ प्रतिशत बढेको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया