Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन


काठमाडौं । आईएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १ को रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरे।

उद्घाटनलगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरणमैत्री क्यालसियम कार्बोनेट उत्पादनको समेत अवलोकन गरे।

२ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाइ कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिकस्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरू गरेको हो ।

शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।

उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो उद्योगको स्थापना आईएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र नभई नेपालको औद्योगिक यात्रामै नव जागरणका रूपमा लिएको बताए ।

अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन देशको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दिगो औद्योगिक विकासप्रतिको प्रतिबद्धताका रूपमा लिन र विकासको राष्ट्रिय आकाङ्क्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’ को उदाहरण बनेको पनि उल्लेख गरे ।

उद्योगहरू बन्द हुने, लगानीकर्ताहरू पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न युवाहरू जानुपर्ने बाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योगहरू खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सिर्जना गर्न आईएमई ग्रुपको यस्तै उत्पादनमूलक उद्योगमा भएको प्रवेश महत्त्वपूर्ण पाइला साबित हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउँदै अध्यक्ष ढकालले नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिजले प्रत्यक्षरूपमा ३०० बढी र अप्रत्यक्षरूपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गरेको जानकारी समेत गरारे । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा बिक्रेता र किसानहरू समेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरूलाई अवसर दिन थालेको छ ।

अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग प्रवर्द्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार र आमनेपाली नागरिकको सोच तथा सपनासँगको हातेमालोका रूपमा लिन पनि आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षका रूपमा ढकालले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानूनहरू निकै सहयोगी सिद्ध हुने विश्वास लिएको उल्लेख गरे ।

उनले देशको अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानूनहरू निर्माणमा सरकारले निजी क्षेत्रका सुझावहरू सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको महसूस गरेको पनि उल्लेख गरे ।

‘स्वदेशी होस् या विदेशी होस्, लगानीकर्ताले फिल्डमा काम भएरनभएको हेर्ने गर्दछ । त्यसैले यस्तै नयाँ नयाँ ठूला आयोजनाहरू वर्षमै सञ्चालनमा आए भने त्यसले देशमा लगानीको वातावरण छ भन्ने अर्थ आफैं लाग्नेछ । त्यसैले आज सञ्चालनमा आएको यो उद्योगले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिन्छ’, उनले भने ।

त्यस अवसरमा अध्यक्ष ढकालले पाथीभरामा बन्न लागेको केबलकारको विषयमा सतहमा आएका केही विषयले देशमा लगानी र व्यावसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशङ्का रहेको समेत उल्लेख गरे ।

ताप्लेजुङका स्थानीय नागरिक, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथीभरामा केबलकारको निर्माण परियोजना शुरू गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले यो प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्य–मान्यता र पर्यावरणीय सन्तुलनजस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लावासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको बताए।

काम शुरू भएलगत्तै जिल्लाभन्दा बाहिरबाट गएर अवरोधको प्रयास भएको र यस्तो प्रवृतिले भोलिका दिनमा लगानीको अवस्था के हुन्छ र लगानीकर्ता यस्तो अवस्थामा थप लगानीका लागि तयार हुन्छन् कि हुँदैनन भन्ने कुरा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएकोतर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।

पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसारभरि पुग्दा त्यसले विश्वका लगानीकर्ताहरूमा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता निजी क्षेत्रमा बढाएको पनि अध्यक्ष ढकालले बताए ।

बदलिँदै गरेको विश्व परिवेशमा विदेशी अनुदान तथा सहायता घट्दै गएको यथार्थ मनन गरेर स्वदेशी उद्यमी, रोजगारी र राजश्व सिर्जना गर्ने कर्मशिलहरूलाई प्रोत्साहन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले प्रकृतिले दिएका अपार सम्भावनाहरूलाई उपयोग गर्दै समृद्धितर्फको यात्रामा सँगसँगै अगाडि बढ्न आह्वानसमेत गरे ।

सबै राजनीतिक दलका नेताहरू, सबै सङ्घ–संस्थाका नेतृत्व वर्गलाई पूर्वाधार विकास, रोजगारी सिर्जना, आमनागरिकले पाउने सेवा र राज्यले प्राप्त गर्ने राजश्वको मुख्य स्रोत सिर्जना गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता पनि अध्यक्ष ढकालले औँल्याए ।

पूर्वाधार निर्माण, आर्थिक विकास र आमनागरिकले प्राप्त गर्ने सेवा, सुविधा र आवश्यकताका विषयमा नकारात्मक राजनीति नगर्न र पूर्वाधार विकास भयो भने मात्र नागरिकको जीवनस्तर सुधार हुने रोजगारी सिर्जना हुने, राजश्व वृद्धि हुने हो र देश सम्मृद्ध हुनेमा कसैको दुईमत नरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

आज उद्घाटन भएको उद्योगको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले विगत कैयौं वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहँदै आएकोमा अब त्यो अवस्था नरहने बताए । ‘देशकै ठूलो उद्योगमध्येको एक भृकुटी कागज कारखाना बन्द भएसँगै हामीसँग औद्योगिकस्तरमा कागजको आन्तरिक उत्पादन छैन । साना तथा हाते कागज उद्योगहरूले भने हस्तकला तथा नेपाली कागजको आपूर्तिमा योगदान गरे पनि पर्याप्त छैन’, उनले भने ।

त्यस अवसरमा अध्यक्ष ढकालले आईएमई समूहको व्यावसायिक अभियानका प्राथमिकताका बारेमा पनि उल्लेख गरे । पहिलो राष्ट्रले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्ने, दोस्रो बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने क्षेत्रमा लगानी गर्ने र तेस्रो देशको दीर्घकालीन र सबैको खाँचोको व्यवसाय बन्न सक्ने क्षेत्रमा लगानी गर्ने उनले बताए ।

‘रेमिटेन्स, बैंक, बीमा, सूचना प्रविधि, जलविद्युत् र पर्यटन पूर्वाधार सबै व्यवसाय यसै प्राथमिकतामा आधारित छन् । यस कारखानाले प्राथमिकता पूरा गर्न सक्दछ’, ढकालले भने।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट