ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट

काठमाडौं, १२ चैत । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ आज (मंगलबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख ४७ हजार ६०० जना आवेदकहरूले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त आइपिओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकोमा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ।
रितपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो।
कम्पनीले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले जारी पुँजी ६० करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशत १ करोड ८० लाख रूपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ।
दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता निष्कासन गरेको आइपिओ आज बाँडफाँट भएको हो।
आइपीओको नतिजा कम्पनीको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ। यसैगरी, सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नितिजा हेर्न सकिन्छ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया