चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन, २७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दर्जनौँ अर्थतन्त्रमाथि दण्डात्मक भन्सार दर बुधबार लागु भएको छ । यसमा चिनियाँ सामानहरूमा १०० प्रतिशतभन्दा बढी कर समावेश छ र यसले विनाशकारी विश्वव्यापी व्यापार युद्धलाई नाटकीय रूपमा बढाएको छ ।
सप्ताहन्तदेखि लागु भएका व्यापक १० प्रतिशत भन्सार दरहरूले विश्व अर्थतन्त्रलाई हल्लाएपछि बुधबार बिहान १२:०१ बजे (०४०१ जिएमटी) युरोपेली सङ्घ (इयु) वा जापानजस्ता निर्यातकहरूबाट संयुक्त राज्य अमेरिकामा आयातमा दरहरू थप बढेका छन् ।
वासिङ्टनको शीर्ष आर्थिक प्रतिद्वन्द्वी तर प्रमुख व्यापारिक साझेदार समेत रहेको चीन सबैभन्दा बढी प्रभावित भएको छ । ट्रम्प ह्वाइट हाउसमा फर्केपछि चिनियाँ उत्पादनहरूमा लगाइएका भन्सार दरहरू अहिले आश्चर्यजनक रूपमा १०४ प्रतिशत पुगेको छ ।
ह्वाइट हाउसले जापान र दक्षिण कोरियाजस्ता सहयोगीहरूलाई प्राथमिकता दिने भन्दै मङ्गलबार आफ्नो सरकारले व्यापारिक साझेदारहरूसँग ‘अनुकुल सम्झौताहरू’ मा काम गरिरहेको ट्रम्पले बताउनुभयो ।
उहाँका शीर्ष व्यापार अधिकारी जेमिसन ग्रिरले पनि सिनेटलाई अर्जेन्टिना, भियतनाम र इजरायलले आफ्नो कर घटाउने प्रस्ताव गरेको बताउनुभयो ।
मङ्गलबार राति साथी रिपब्लिकनहरूसँगको रात्रिभोजमा ट्रम्पले देशहरू सम्झौता गर्न ‘आतुर’ रहेको बताउनुभयो । “म तपाईंलाई भन्दैछु, यी देशहरू मलाई चाट्दै हामीलाई फोन गरिरहेका छन्”, उहाँले भन्नुभयो ।
तर बेइजिङले पछि हट्ने कुनै सङ्केत देखाएको छैन । चीनले व्यापार युद्ध ‘अन्त्यसम्म’ लड्ने र आफ्नो हितको रक्षा गर्न प्रतिकारको वाचा गरेको छ ।
चीनले अमेरिकी सामानमा लगाएको ३४ प्रतिशत कर बिहीबारदेखि लागु हुने भएको छ ।
अमेरिकी राष्ट्रपतिले आफ्नो नीतिले कम्पनीहरूलाई संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न बाध्य पार्दै अमेरिकाको हराएको उत्पादन आधारलाई पुनर्जीवित गर्ने विश्वास गर्नुभएको छ ।
तर धेरै व्यापार विशेषज्ञहरू र अर्थशास्त्रीहरूले यो कति चाँडो–यदि कहिल्यै–हुन सक्छ भन्नेमा प्रश्न उठाउँदै भन्सार दरले मूल्य बढाउँदा उच्च मुद्रास्फीतिको चेतावनी दिन्छन् ।
मङ्गलबार ट्रम्पले संयुक्त राज्य अमेरिकाले करबाट ‘दैनिक लगभग दुई अर्ब डलर’ कमाइरहेको बताउनुभयो ।
चीन ‘सम्झौता गर्न चाहन्छ’
उहाँले सुरुमा चिनियाँ सामानहरूमा ३४ प्रतिशत अतिरिक्त भन्सार दर घोषणा गर्नुभएको थियो । तर चीनले अमेरिकी उत्पादनहरूमा समान मात्राको आफ्नै भन्सार दर लगाएपछि ट्रम्पले अर्को ५० प्रतिशत भन्सार शुल्क थप्नुभयो ।
फेब्रुअरी र मार्चमा लगाइएको विद्यमान करहरू गणना गर्दा यसले ट्रम्पको दोस्रो राष्ट्रपतिको कार्यकालमा चिनियाँ सामानहरूका लागि सञ्चयी भन्सार शुल्क वृद्धि १०४ प्रतिशत पुग्ने छ ।
बेइजिङले ‘नराम्रो तरिकाले सम्झौता गर्न चाहन्छ, तर यसलाई कसरी सुरु गर्ने भन्ने थाहा छैन’ भन्दै ट्रम्पले बल चीनको कोर्टमा रहेको जोड दिनुभएको छ ।
मङ्गलबार अबेर ट्रम्पले संयुक्त राज्य अमेरिकाले औषधिहरूमा ‘धेरै चाँडै’ प्रमुख भन्सार दर घोषणा गर्ने पनि बताउनुभयो ।
छुट्टै, क्यानडाले केही अमेरिकी अटो आयातमा आफ्नो भन्सार दर बुधबार लागू हुने बताएको छ ।
चीन ‘आत्मविश्वासी’
पछिल्लो दिनमा विश्वव्यापी सेयर बजारबाट खर्बौं डलरको मूल्य समाप्त भएपछि एसियाका बजारहरू बुधबार फेरि खुल्दा हङकङ तीन प्रतिशतभन्दा बढी र जापानको निक्केई दुई दशमलव सात प्रतिशतले घटेको छ ।
विदेशी मुद्रा बजारमा पनि गिरावट देखिएको छ । दक्षिण कोरियाली वोन यस हप्ता २००९ पछि डलर विरूद्ध सबैभन्दा कम स्तरमा झरेको छ ।
बेइजिङको केन्द्रीय बैंकले बुधबार युआनलाई कमजोर पार्न कदम चालेसँगै चीनको अपतटीय युआन पनि अमेरिकी डलर विरूद्ध अहिलेसम्मकै कममा झरेको छ । यो गिरावटलाई ब्लूमबर्गले लगातार पाँचौँ दिन भनेको छ ।
तेलको मूल्य घटेको छ । पश्चिम टेक्सास मध्यवर्ती सन् २०२१ अप्रिलपछि पहिलो पटक ४६० भन्दा तल बन्द भयो ।
युरोपेली सङ्घ (इयु) ले तनाव कम गर्न खोजेको छ । समूहका प्रमुख उर्सुला भन डेर लेयनले चिनियाँ प्रधानमन्त्री ली चियाङसँगको कुराकानीमा व्यापार द्वन्द्व बढाउन नहुने चेतावनी दिनुभएको छ ।
उहाँले विश्व अर्थतन्त्रको स्थिरताका साथै ‘थप तीव्रता रोक्ने आवश्यकता’ मा जोड दिनुभएको इयुको विवरणले बताएको छ ।
चिनियाँ प्रधानमन्त्रीले भन डेर लेयनलाई ‘दिगो र स्वस्थ आर्थिक विकास कायम राख्न पूर्ण आत्मविश्वास छ’ भन्दै आफ्नो मुलुकले ‘आँधीबेहरीको सामना गर्न सक्ने’ बताउनुभयो ।
इयुले अगामी हप्ता २० प्रतिशतको नयाँ करहरूको जवाफमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्न सक्छ । इयुको भन्सार व्यवस्थाबारे ट्रम्पले कटु आलोचना गर्नुभएको छ ।
गत महिना लागु भएको अमेरिकी स्टिल र एलुमिनियम करको बदलामा इयुले सोयाबिनदेखि मोटरसाइकलसम्मका अमेरिकी सामानहरूमा २५ प्रतिशतसम्म कर लगाउने योजना बनाएको एएफपीले देखेको कागजातमा उल्लेख छ ।
अनुकूलित सम्झौताहरू
वाल स्ट्रिटका प्रमुख सूचकाङ्कहरू मङ्गलबार घटेर बन्द भए । व्यापक–आधारित एस एन्ड पी ५०० एक दशमलव छ प्रतिशतले घट्यो ।
भन्सार दरहरूमाथि घर्षणको एक सार्वजनिक सङ्केतमा ट्रम्पका प्रमुख सहयोगी एलन मस्कले वरिष्ठ ह्वाइट हाउस व्यापार सल्लाहकार पिटर नभारोलाई ‘इँटाको झोलाभन्दा मूर्ख’ भनेर वर्णन गर्नुभयो ।
ट्रम्पको व्यापार नीतिमा आफ्नो विरोधको सङ्केत दिएका नाभारोले आफ्नो टेस्ला कम्पनीलाई सस्तो विदेशी पाट्र्स चाहने ‘कार एसेम्बलर’ भनेर वर्णन गरेपछि मस्क आक्रोशित हुनुभयो । रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
प्रतिक्रिया