नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने एडीबीको प्रक्षेपण

काठमाडौं, २७ चैत । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर ४.९ र नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडीबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक-२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो ।
अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एसिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकाले नयाँ भन्सारदर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडीबीले जनाएको छ । अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडीबीले एसिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.९ प्रतिशत र सन् २०२६ मा ४.७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।
त्यस्तै, यस क्षेत्रको मुद्रास्फीति सन् २०२५ मा २.३ र सन् २०२६ मा २.२ प्रतिशतमा घट्ने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा एसिया क्षेत्रको मुद्रास्फीति २.६ प्रतिशत थियो ।
नेपालको मुद्रास्फीति भने सन् २०२५ मा ५.२ र सन् २०२६ मा ५ प्रतिशत रहने अनुमान गरिएको छ । गत असोजमा आएको बाढीपहिरोका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडीबीले जनाएको छ । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरिएको छ ।
‘अप्रिलको सुरुवातमा घोषणा गरिएका अमेरिकी भन्सार शुल्कहरूको पूर्ण कार्यान्वयन र थप अमेरिकी व्यापार नीति परिवर्तनले आर्थिक वृद्धिदरमा गिरावट ल्याउन सक्ने अनुमान गरिएको छ । व्यापार क्षेत्रमा थप अनिश्चिततता देखिन सक्छ’, प्रतिवेदनमा भनिएको छ ।
साथै, विस्तारमुखी वित्तीय नीतिहरूले मुद्रास्फीति बढाउन सक्ने अनुमान गरिएको छ । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण आपूर्ति शृङ्खलामा अवरोध, खाद्य र ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी आर्थिक अनिश्चितता युक्रेन-रुसको युद्धबाट सिर्जित समस्यालगायत कारणले जोखिम बढ्ने एडीबीले अनुमान गरेको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया