Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

चीनले अमेरिकाबाट आयात हुने सामानमा कर बढाएर ८४ प्रतिशत पुर्‍यायो


चीनले अमेरिकाबाट आयात हुने सामानमा थप ५० प्रतिशत कर लगाएको छ । अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलामा चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने सबै सामानमा थप ५० प्रतिशत कर लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ ।

योसँगै अब अमेरिकाबाट चीन आयात हुने सामानमा जम्मा कर ८४ प्रतिशत पुगेको छ । यसअघि चीनले ३४ प्रतिशत कर लगाएको थियो । यो कर भोलिदेखि लागू हुने मन्त्रालयले जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा थप ५० प्रतिशत कर लगाएका थिए। योसँगै अमेरिका भित्रिने चिनियाँ सामानमा कुल कर १०४ प्रतिशत पुगेको छ ।

आफ्नो दोस्रो कार्यकालको शुरूमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए । त्यसपछि उनले विश्वभर कर लगाउने घोषणा गर्दै चीनमा थप ३४ प्रतिशत कर लगाएका थिए ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी करको प्रतिरोध गर्न चीनले आफ्ना छिमेकी देशहरूसँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताएका छन् । उनले एशियाली देशहरूले राम्रो भविष्यका लागि मिलेर काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

अमेरिका र चीनबीच व्यापार युद्ध चर्किँदै गएको छ । यही अवस्था रहेमा दुई देशबीच पूर्ण स्तरको व्यापार युद्ध हुने सम्भावना देखिएको छ ।

अमेरिका र चीन विश्वका शीर्षस्थ अर्थतन्त्र हुन् । गएको वर्ष दुई देशबीच ५८५ अर्ब अमेरिकी डलर बराबरको सामान व्यापार भएको थियो । अमेरिकाले ४४० अर्ब डलरको आयात गर्दा चीनले जम्मा १४५ अर्ब डलर बराबरको मात्रै आयात गरेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट