नेप्से घटेरै अन्त्य गर्यो वर्ष २०८१ साल, नयाँ वर्षमा कस्तो होला शेयर बजार ?

काठमाडौं । वि.सं.२०८१ को अन्तिम कारोबार दिनमा नेप्से सूचक घटेर बन्द भएको छ । आइतबार नेप्से सूचक ८.८४ विन्दुले घटेर २६६१.८६ विन्दुमा बन्द भएको हो । यस दिन ६ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सूचीकृत अधिकांश समूहमा गिरावट आएको छ । ३ वटा कम्पनी भने सकारात्मक सर्किट लेभलमा रहेर कारोबार भएका छन् ।
नेप्सेमा आइतबार गिरावट आउनुको मुख्य कारण चैत मसान्तको प्रेसर नै बढी देखिन्छ । अहिले बजारलाई नकारात्मक असर पुर्याउने अन्य कारणहरु खासै देखिएका छैनन् । त्रैमासिक क्लोजिङको समय भएका कारण यतिबेला अधिकांश लगानीकर्तालाई बैंकको साँवा–ब्याज तिर्नुपर्ने चटारो हुन्छ । जसका कारण सेयर बजारमा पनि केही नकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ ।
सेयर बजारलाई बढी प्रभाव पार्ने ब्याजदर र वृहत अर्थतन्त्रका सूचकहरु सबै सकारात्मक नै देखिएका छन् । तर सूचीकृत कम्पनीहरुको सेयर भाउमा सीधा प्रभाव पार्ने वित्तीय विवरण भने लगानीकर्ताको पर्खाइको विषय बनेको छ । यसैकारण अहिले लगानीकर्ताहरु पनि पर्ख र हेरको मुडमा रहेका छन् । अब सूचीकृत कम्पनीहरुले धमाधम तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न सुरु गर्छन् ।
जसको प्रभाव पनि बजारमा देखा पर्नेछ । लगानीकर्ताहरुले कम्पनीको वित्तीय विवरणलाई हेरेर नै भावी लगानी रणनीति बनाउने भएकाले तेस्रो त्रैमासमा कम्पनीहरुको कमाई कस्तो आउँछ भन्ने चासोको विषय हो । यता, वर्ष २०८१ मा अधिकतर समय साइडवेज बसेको सेयर बजार नयाँ वर्षमा भने अघि बढ्ने लगानीकर्ताको आशा छ । ब्याजदर, अर्थतन्त्रका सूचक र नीतिगत कुराहरु पनि सेयर बजारमैत्री भएकाले आगामी वर्षमा सेयर बजारले माथिल्लो दिशा तय गर्नसक्ने अनुमान गरिएको छ ।
यस दिन ३ सय २२ कम्पनीको १ करोड ३१ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४५ करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी होल्डिङ्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र राधी विद्युत परेका छन् ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया