विद्युतीय गाडीको ब्याट्री सुरक्षा नियममा चीनको नयाँ पहल

चीनले विद्युतीय गाडी (ईभी) मा प्रयोग हुने ब्याट्रीको सुरक्षासम्बन्धी नयाँ अनिवार्य राष्ट्रिय मापदण्ड आउँदो वर्ष सन् २०२६ जुलाई १ देखि लागू गर्ने भएको छ ।
संशोधित मापदण्डमा केही महत्त्वपूर्ण सुधारहरू गरिएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मापदण्डमा ब्याट्रीको तापसम्बन्धी परीक्षणमा परिमार्जन गरिएको छ ।
जसअन्तर्गत आवश्यक तापक्रम, परीक्षण अवलोकनको समय तथा गाडी परीक्षणको अवस्था अझै स्पष्ट रूपमा उल्लेख गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
ब्याट्रीमा पटक–पटक तीव्र चार्ज गरेपछि त्यसको सुरक्षा अवस्था जाँच गर्न नयाँ परीक्षण पनि थपिएको छ । अब तीन सय पटकसम्म तीव्र चार्ज गरेपछि बाहिरी छोटो सर्किट परीक्षण गरिनेछ ।
संशोधित मापदण्डअनुसार नयाँ नियम गाडी चलाउन प्रयोग हुने शक्ति ब्याट्रीहरूमा मात्र लागू हुने छ । यो कदमले विद्युतीय गाडीको सुरक्षालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
प्रतिक्रिया