Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बजारबाट खिच्दै


काठमाडौं, वैशाख ७ – पछिल्लो समय बजारमा अत्यधिक तरलता देखिन थालेपछि नेपाल राष्ट्र बैंकले आर्थिक सन्तुलन कायम गर्न आज ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार, निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रणाली प्रयोग गरी उक्त रकम संकलन गर्न लागिएको हो।

“क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै २१ दिनको अवधिका लागि यो रकम संकलन गरिने जनाइएको छ। बोलकबोल प्रक्रियामा न्यूनतम ब्याजदरलाई प्राथमिकता दिइनेछ।

हाल केही आर्थिक सूचकहरू सकारात्मक देखिए पनि व्यवसायिक वातावरण कमजोर भएकाले बैंकहरू कर्जा प्रवाहमा सतर्क देखिएका छन्। यस्तो अवस्थामा बजारमा तरलता उच्च हुनु स्वाभाविक हो। यसलाई सन्तुलनमा राख्न राष्ट्र बैंक समयमै सक्रिय बनेको हो।

राष्ट्र बैंकले अपनाएको मौद्रिक नीतिअनुसार तरलता बढ्दा बजारबाट रकम खिच्ने र तरलता कम हुँदा रकम प्रवाह गर्ने उपाय अवलम्बन गरिँदै आएको छ। हालको संकलनले बैंकिङ प्रणालीमा वित्तीय अनुशासन कायम गर्नुका साथै मुद्रास्फीति नियन्त्रणमा पनि योगदान पुर्‍याउने विश्वास गरिएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट