Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

गभर्नर नियुक्ति प्रकरणमा परेको रिट सर्वोच्चमा आज पनि हेर्न भ्याइएन


काठमाडौं । गभर्नर नियुक्तिको सम्भावनासँगै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज पनि सुनुवाइ हुन सकेन। न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको हो।

सरकारले पूर्वसचिव गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न लागिएको चर्चा चलिरहेका बेला अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले त्यसविरुद्ध शुक्रबार पूरक रिट दायर गरेका थिए। रिटमा नियुक्ति प्रक्रिया रोक्न माग गरिएको छ।

यसअघि पनि उनीहरूले ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय (राष्ट्र बैंकसमेत) का पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ (दोस्रो संशोधन) खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए। सो संशोधनले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई पनि राष्ट्र बैंकका पदाधिकारी वा सदस्य नियुक्त गर्न सकिने व्यवस्था गरेको छ।

सरकारले भट्टलाई नियुक्त गर्ने तयारीसँगै उक्त मापदण्डमा संशोधन गरिएको भन्दै अधिवक्ताहरूले न्यायिक हस्तक्षेपको माग गरेका हुन्। तर, आजको इजलासले रिट हेर्न नभ्याएको भन्दै विषय स्थगित भएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट