गुणाकर भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको दाबीसहित परेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं, ८ वैशाख । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको दाबीसहित सर्वोच्च अदालतमा दायर पूरक रिट निवेदनसहितको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासको १३ औं नम्बरमा चढेको मुद्दामा पूरक निवेदनसमेत पेश गरिएको थियो ।
न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले वैशाख २ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेकाले गभर्नर नियुक्तिको मुद्दामा पेचिलो अर्थ राख्नेगरी भट्टविरुद्ध पूरक निवेदन शुक्रबार दायर भएको थियो । उक्त निवेदन उमेर हदको मापदण्डको मुद्दासँगै झुण्डिएर पेशीमा चढेको हो ।
कार्यकारी निर्देशक भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको र नेताहरुको सहमतिका आधारमा भन्दै ऐनको बाटो छाडि नियुक्ति गर्ने दुषित क्रिया भएको दावी सहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पूरक रिट निवेदन दायर गरेका हुन् । त्यसअघि ६५ वर्ष उमेर नाघेका व्यक्तिकोसमेत नियुक्ति पाउने गरी संशोधन भएको मापदण्डको रिटसमेत अधिवक्ताद्वयले नै दायर गरेका हुन् ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया